images
images

व्यास नगरपालिकामाः १६१ किलोमिटर कालोपत्रे सडक विस्तार

images

दमौली
तनहुँको व्यास नगरपालिका स्थापना भएको ३४ वर्ष पूरा हुँदा नगरले पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। स्थापना कालमा सीमित सडक सञ्जाल भएको नगर अहिले व्यापक सडक विस्तार र शहरी विकासको उदाहरण बनेको छ।

नगर स्थापना हुँदा पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवादेखि हालको व्यास–५ स्थित सिद्धीसम्म करिब १० किलोमिटर मात्रै कालोपत्रे सडक थियो। तर, तीन दशकभन्दा बढी अवधिमा नगरले सडक पूर्वाधारमा ठूलो फड्को मारेको छ। हाल नगरपालिकामा १६१.४९ किलोमिटर कालोपत्रे सडक निर्माण भइसकेको छ भने २५ किलोमिटर ग्राभेल र ७२२.८१ किलोमिटर कच्ची सडक सञ्जाल विस्तार भएको छ। साथै ८०.८ किलोमिटर पक्की नाला निर्माण व्यास नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका सबै १४ वडामा कालोपत्रे सडक पुगेको छ भने थप विस्तारको काम निरन्तर जारी रहेको छ। एक समय गोरेटो र घोडेटो बाटोमा सीमित रहेको यो क्षेत्र अहिले शहरीकरणतर्फ उन्मुख हुँदै गएको छ।  नगरले ठूला पूर्वाधार आयोजनामार्फत पनि विकासलाई तीव्रता दिएको छ। विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको शहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत व्यास–७, ९, १० र ११ जोड्ने ‘पराशर मार्ग’ स्तरोन्नतिको काम सुरु गरिएको छ। बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती जोड्ने १०.५५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको छ। यस आयोजनाका लागि ४० करोड ८३ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण कम्पनीसँग सम्झौता भएसँगै काम अन्त्मि चरणमा रहेको छ । व्यास नगरपालिकामा धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा सडक पहुँच विस्तारले स्थानीय आर्थिक गतिविधिमा टेवा पुगेको छ। प्रसिद्ध छघाब्दी वाराही मन्दिर, पर्यटकीय मानुङकोट, ऐतिहासिक तनहुँसुर, गलेखामकोट लगायतका क्षेत्रसम्म सडक कालोपत्रे सडकको पहुँच पुगेको छ ।  पुलिमर्याङ, केशवटारजस्ता बस्तीमा पनि  पक्की सडक विस्तारले गति लिएको छ।   ग्रामीण सडक स्तरीकरणले गाउँ–बस्तीको जीवन सहज बनाएको मात्र होइन, कृषि उपज बजारसम्म पुर्‍याउन समेत सहयोग पुगेको छ। यसले स्थानीय उत्पादन र आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयको अनुभव छ।

विशेषगरी २०७४ सालमा नयाँ संविधान अनुसार स्थानीय तहमा जनप्रतिनधिहरुले कार्यभार सम्हालेपछि व्यास नगरपालिकामा सडक विस्तारले तीव्रता लिएकोे हो । त्यसयता नगरप्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै योजनाबद्ध रूपमा काम अघि बढाइएको छ।

तीन दशकअघि सीमित पहुँच भएको व्यास नगरपालिका आज पूर्वाधार र शहरी विकासका दृष्टिले उल्लेखनीय परिवर्तनको चरणमा पुगेको छ।  दिगो र समावेशी विकासमार्फत नगरलाई अझ व्यवस्थित र समृद्ध बनाउने लक्ष्य नगरपालिकाले लिएको  नगर प्रमुख न्यौनलेले बताए  ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS