images
images

आँबुखैरेनी–६ मा पहिलो पटक कालोपत्रे सडक

images

दमौली, १९ चैत ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ मा पहिलो पटक सडक कालोपत्रे निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको  छ । वर्षौंदेखि धुलाम्मे र हिलाम्मे सडकको सास्ती खेप्दै आएका स्थानीयवासीका लागि यो योजना ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । गाउँपालिकाको सक्रियता र बजेट व्यवस्थापनका कारण यस क्षेत्रको पूर्वाधार विकासले गति लिएको हो ।
आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत गाउँपालिकाले अघि बढाएको हिलेखर्क सडक स्तरोन्नती योजना अहिले कार्यान्वयनको चरणमा छ । यस योजना अन्तर्गत जोगीनिभञ्ज्याङ देखि वडा नं. ६ को कार्यालय सम्मको सडक स्तरोन्नती भइरहेको छ । पहिलो चरणमा करिब २ किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ भने अन्य खण्डहरूमा पनि स्तरोन्नती तथा ढलान कार्य सँगसँगै अघि बढाइएको छ ।
वडा नं. ६ भित्रै हिलेखर्क खण्ड २ किलोमिटर र समस्तिपुर–गिरन्चौर खण्ड करिब २ किलोमिटर सडक कालोपत्रे निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । समस्तिपुरदेखि गिरन्चौरसम्मको सडक गाउँपालिकाको आन्तरिक स्रोतबाट निर्माण भइरहेको हो भने गिरन्चौरदेखि जोगीनि भञ्ज्याङसम्मका अप्ठ्यारो तथा भिरालो खण्डहरूमा ढलान गरिएको छ। जोगीनिभञ्ज्याङदेखि हिलेखर्कसम्म करिब २ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र रूपमा काम भइरहेको छ । “केही दिनभित्रै जोगीनिभञ्ज्याङदेखि हिलेखर्कसम्मको कालोपत्रे सकिन्छ,” उनले भने, “यो सडक सम्पन्न भएपछि वडा नं. ६ का बासिन्दाको दैनिक जीवनमा ठूलो सहजता आउनेछ ।”
उनका अनुसार संघीय सरकारबाट गिरन्चौरदेखि सार्तेसम्मको खण्डका लागि करिब ६ करोड रुपैयाँ बजेट विनियोजन भई कार्यान्वयनमा आएमा हिलेखर्क–बरादी सडक पूर्ण रूपमा स्तरोन्नती हुने अपेक्षा गरिएको छ । यसले सम्पूर्ण सडक सञ्जाललाई मजबुत बनाउँदै गाउँलाई मुख्य सडकसँग जोड्नेछ ।
बरादीदेखि हिलेखर्कसम्म करिब १० किलोमिटर सडक रहेको छ । आँबुखैरेनी–१ देखी बरादी समस्तिपुरसम्म ३ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। समस्तिपुरदेखि गिरन्चौरसम्म थप २ किलोमिटर सडक पनि स्तरोन्नतीको क्रममा रहेको छ । यसले समग्र क्षेत्रलाई चरणबद्ध रूपमा पक्की सडक सञ्जालमा जोड्दै लगिरहेको छ ।
स्थानीयवासीले सडक कालोपत्रे भएपछि यातायातमा सहजता आउने, समय र खर्च दुवै बचत हुने अपेक्षा गरेका छन्। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण हुने समस्या अब हट्ने विश्वास उनीहरूको छ ।
यसका साथै, यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने देखिएको छ । आँबुखैरेनी–६ का विभिन्न गाउँहरू पर्यटकीय सम्भावना बोकेका क्षेत्रका रूपमा चिनिन्छन्। सडक सहज भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनको बजारीकरणमा पनि यो सडकले महत्वपूर्ण भूमिका खेल्नेछ । फर्सी, न्यूरो, भ्याकुर जस्ता कृषि उपज अब सहज रूपमा बजारसम्म पु¥याउन सकिने भएपछि किसानहरू उत्साहित छन्। यातायात सहज हुँदा उत्पादनको मूल्यसमेत राम्रो पाइने अपेक्षा गरिएको छ।
समग्रमा, आँबुखैरेनी–६ मा पहिलो पटक कालोपत्रे सडक निर्माण हुनु केवल पूर्वाधार विकास मात्र नभई स्थानीय आर्थिक, सामाजिक र पर्यटन विकासको नयाँ आधारका रूपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा विकासको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS