images
images

शुक्लागण्डकीमा पाँचौं संस्करणको महोत्सव आज वाट सुरु, स्थानीय उत्साहित

images

तनहुँ ।शुक्लागण्डकी नगरपालिकामा पाँचौं संस्करणको शुक्लागण्डकी महोत्सव आज (चैत ६) गतेदेखि विधिवत् रूपमा सुरु भएको छ। चैत १७ गतेसम्म सञ्चालन हुने यस महोत्सवले स्थानीयस्तरमा आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

“आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन तथा कला, सिप र संस्कृतिको संरक्षण” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सव भव्य र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। महोत्सवको उद्घाटन नवनिर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले गर्ने छन्।

उद्घाटन समारोहमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको थियो। साथै, दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ।

महोत्सवमा यसपटक युवापुस्तालाई लक्षित गर्दै टिकटक र रिल्स प्रतियोगिता तथा खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ। यस्ता कार्यक्रमले युवाको सहभागिता बढाउनुका साथै प्रविधिमैत्री सिर्जनात्मक गतिविधि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका संयोजक समुद्रराम श्रेष्ठका अनुसार महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका वस्तु, हस्तकला सामग्री र परम्परागत खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री भइरहेको छ। साथै, बाल उद्यान, खेलकुद गतिविधि र मनोरञ्जनका विभिन्न स्टलहरू पनि राखिएका छन्।

महोत्सवले विशेषगरी आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। शुक्लागण्डकी क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्भावनाहरूलाई उजागर गर्न महोत्सव उपयोगी बन्ने आयोजकको दाबी छ।

स्थानीय व्यवसायी, किसान, कलाकार तथा सर्वसाधारणको सक्रिय सहभागिताले महोत्सव क्षेत्र यतिबेला चहलपहलमय बनेको छ। आयोजकका अनुसार महोत्सव अवधिभर विविध सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछन्।

महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रोजगारीका अवसर सिर्जना गर्ने र समग्र क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS