images
images

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै, जित्नैपर्ने दबाब

images

११ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो जहाँ ३-० ले पराजित भएको थियो ।

आजको खेलसहित बाँकी ३ वटै खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित भएमा नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिनेछ ।

नेपाल आजको खेलमा पराजित भएमा बाँकी २ खेल जितेपनि सर्वाधिक ९ अंकसम्म पुग्न सक्छ । तर त्यसपछि भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाललाई अब ३ वटै खेल जित्नुको विकल्प हुने छैन ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो तथा नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराएको थियो ।

बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भएको थियो ।

पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ । नेपाल भने उमेर समूहमा भारत र बंगलादेशभन्दा कमजोर देखिँदै भुटानसँग चुनौतीपूर्ण खेल पस्कने स्तरमा छ ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपाल र भारत

अगस्ट २२ : नेपाल र भुटान

अगस्ट २४ : नेपाल र बंगलादेश

अगस्ट २७ : बंगलादेश र नेपाल

अगस्ट २९ : भारत र नेपाल

अगस्ट ३१ : भुटान र नेपाल

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS