९ साउन, काठमाडौं । काभा च्याम्पियन्स लिगमा कांस्य पदक जितेको नेपाली टोली हेल्प नेपाल स्पोर्ट्स क्लब शुक्रबार विहान स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । भलिबल संघका उपाध्यक्ष भरत शाह, हेल्प नेपाल स्पोर्ट्स क्लबका पदाधिकारी लगायत पनि उपस्थित थिए ।
हेल्प नेपालले समूह चरणमा ४ जित र १ हार बेहोर्दा सेट रेसियोमा झिनो अन्तरले पछि परेर फाइनल पुग्नबाट वञ्चित भएको थियो ।
तीन खेल पाँच सेटमा पुग्दा सेट रेसियोमा पछि पर्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक उत्सव खड्काले बताए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले विदेशी भूमिमा नेपालको कुनै पनि भलिबल टोलीले जितेको यो दोस्रो पदक भएको बताए। यसअघि सन् २०१७ मा नेपालको पुरुष राष्ट्रिय टिमले माल्दिभ्समा भएको काभा सेन्ट्रल जोनमा कांस्य पदक जितेको थियो ।
माल्दिभ्समा नेपालको विभिन्न टोलीले गएर विभिन्न प्रतियोगिता खेल्दै आएको छ । गत वर्ष माल्दिभ्समा नेपाल पुलिस क्लबले काभा महिला क्लब च्याम्पियनसिपको स्वर्ण जितेको थियो ।
यस्तै नेपाली यू२० महिला राष्ट्रिय टिमले गत वर्ष नै माल्दिभ्समा काभा यू२० महिला च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो ।-अनलाइनखबर
















