images
images

सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत तनहुँमा वृहत वृक्षारोपण कार्यक्रम

images

तनहुँ, व्यास — सगरमाथा वृक्षारोपण महाअभियान २०२५–२०४५ को अवसरमा डिभिजन वन कार्यालय तनहुँ र गौ संरक्षण केन्द्र, व्यास–१० को संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वय तथा व्यास नगरपालिका र भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम व्यास नगरपालिका–१० स्थित गौ संरक्षण केन्द्रमा सम्पन्न भएको थियो। वृक्षारोपण कार्यक्रम सुरु गर्नु अघि स्वागत मन्तव्यसहित डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले कार्यक्रममा प्रकाश पारेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले वृक्षारोपणको महत्वबारे मन्तव्य राख्दै वातावरण संरक्षण र जैविक विविधता विस्तारमा स्थानीय तहको अग्रसरता आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोपणलाई अभियानको रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गौ संरक्षण केन्द्रका अध्यक्ष असापकोटाले वृक्षारोपण मात्रै नभई रोपिएका बिरुवाको संरक्षण र समुचित स्याहारको प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल, सव-डिभिजन वन कार्यालय व्यासका वन अधिकृत मदन सुवेदी, विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू, गौ संरक्षण केन्द्रका पदाधिकारी, सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत राईखन्यु, कोइरालो, टाँकी, निमारो लगायत प्रजातिका झण्डै ४०० बिरुवा रोपिएको जनाइएको छ। यसअघि डिभिजन वन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा मादी नदी किनारमा १२० वटा बाँस र ३,००० अम्रिसोका सेटहरू पनि रोपण गरिएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशिराज पण्डितले बताए ।

वातावरणीय सन्तुलन, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तन न्यूनीकरणको दीर्घकालीन उद्देश्यसहित सञ्चालित वृक्षारोपण कार्यक्रमले जैविक विविधता संरक्षण र प्राकृतिक स्रोत व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS