पोखरा । झण्डै तीन दशकअघि तनहुँमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त फत्त बहादुर शाही (फिरोज) पक्राउ परेका छन्। उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको विशेष टोलीले स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–४ स्थित घुर्लिचौरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शाहीले २०५२ साल चैत्र २२ गते तनहुँको साविक ढोरफिर्दी गा.वि.स. वडा नं. ८ र भानुमति गा.वि.स. वडा नं. ७ को सिमानामा पर्ने क्याङ्दी खोला र वरखोला बिच लागेको मेलामा महिलाको विषयमा विवाद हुँदा स्थानीय चित्रबहादुर खाँणमाथि खुकुरी तथा छुरी प्रहार गरी हत्या गरेका थिए।
शाहीलाई तनहुँ जिल्ला अदालत, दमौलीले २०६० साल माघ २८ गतेको फैसलामार्फत कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैद सजाय सुनाएको थियो। तर उनी लामो समयसम्म फरार रहँदै आएका थिए।
विशेष सूचनाका आधारमा अनुसन्धान तथा खोजी कार्य अघि बढाएको प्रहरीले उनलाई २९ वर्ष ३ महिना पछि पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका शाही हाल तनहुँ जिल्ला, भिमाद नगरपालिका वडा नं. ८ निवासी हुन्। उनलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए।-रातोपाटी
















