आँबुखैरेनी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
२७ असार २०८२, शुक्रबार १५:३५
आँबुखैरेनी, तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष ०८१/०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो।
गाउँपालिकाको आयोजना तथा उद्घोष सञ्चार उद्योगको समन्वयमा वडा नं। ३ स्थित गाउँपालिका प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत (सातौं)शर्मिला अधिकारीले पालिकाबाट सम्पन्न गतिविधिहरू र विकास निर्माण कार्यको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा १५० भन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको थियो।
सहभागीहरूले विभिन्न जिज्ञासा, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए। स्थानीयवासीका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष शुक्र चुमानले दिएका थिए। कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष तथा उद्घोष दैनिकका सम्पादक उज्वल पौडेलले गरेका थिए।