images
images

गण्डकीमा भौतिक मन्त्रालयको बजेट १ रुपैयाँमा झार्न माओवादीको प्रस्ताव

images

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारले प्रस्तुत गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय तर्फको बजेट एक रुपैयाँ मात्रै कायम गर्न प्रस्ताव दर्ता गरेको छ ।

सोमबारको संसद् बैठकमा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले उक्त प्रस्ताव पेस गरेकी हुन् । बजेटको प्राथमिकता र कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उनले बजेटप्रति दलको तर्फबाट असहमति जनाएकी हुन् । सरकारको विनियोजन विधेयकमा माओवादीको असहमति छ ।

‘हामीले बजेट विनियोजन गर्दै गर्दा सामाजिक न्याय गर्न सक्यौँ कि सकेनौँ भन्ने हो । मिडियामा आइरहेका कुरा मैले रेकर्ड गराइसकेको छु,’ उनले भनिन्, ‘बजेटमा नेतृत्वको पहुँच भन्दा भूगोललाई प्राथमिकता दिनुपर्थ्यो । कुनै जिल्लाको बजेट भन्दा एक जना माननीयको एउटै योजना भारी छ ।’ उनले सरकारलाई पटक पटक सुझाव दिएपनि वास्ता नगरिएको बताइन् ।

बुढाले कुनै जिल्लामा भन्दा कुनै सांसदको निर्वाचन क्षेत्रमा एउटै योजनामा बढी बजेट परेको भन्दै आपत्ति जनाएकी छिन् । ‘नयाँ योजना तर्फ गोरखालाई ६५ करोड १० लाख छ । कास्कीलाई ७५ करोड १६ लाख छ । तनहुँलाई ३५ करोड ८५ लाख छ,’ अघि भनिन्, ‘त्यस्तै जिल्ला, भूगोल भएको मुस्ताङलाई ९ करोड ५३ लाख मात्रै बजेट छ । यही समन्यायिक हो भने ताली पड्काएर अगाडि बढाऔँ ।’

सरकारको पुरानो दायित्व बढ्दै गएकोमा माओवादीको असन्तुष्टि छ । ‘मन्त्रालयको भुक्तानी गर्नुपर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष दायित्व पूरा गर्नै नसक्ने बजेट बन्दै छ । अहिलेसम्म भौतिकको मात्रै १३ अर्ब ६५ करोड भएकोमा दायित्वलाई प्राथमिकतामा राखेको देखिएन,’ उनले भनिन्, ‘६ अर्ब ३६ करोड मात्रै दायित्व भुक्तानीको लक्ष्य छ । ७ अर्ब ५८ करोड अझै दायित्व बाँकी राखिएको छ ।’

मन्त्रालयले नयाँ योजनामा राखेको बजेटबाट केही सीमित क्षेत्रमा मात्रै केन्द्रित गरिएको आरोप बुढाको छ । ‘११ अर्ब ४८ करोड पूँजीगत बजेट मध्ये ५ अर्ब ४२ करोडको नयाँ योजना वितरण गरेको छ । यो पनि जसको हातमा कलम छ, उसैले बढी लगेको छ,’ उनी भन्छिन्, ‘३६ वटै निर्वाचन क्षेत्रले प्रदेशलाई योगदान गरेका छन् । तर त्यसलाई समन्यायिक किन वितरण हुन सकेन ?  आगामी वर्ष पनि बहु वर्षे योजनाको स्रोत सुनिश्चितता गर्दा दायित्व बढ्ने देखिन्छ ।’

बुढाले कम्तीमा ६० प्रतिशत दायित्व घटाउनुपर्ने बताइन् । ‘उक्त मन्त्रालयको शीर्षक सडक पुल तथा निर्माणको खर्च रकमलाई घटाइ १ रुपैयाँ कायम गरियोस्,’ उनले भनिन् ।

माओवादीका अर्का सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रेशम जुग्जालीले बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका नै रोष्ट्रमबाट च्यातिदिएका छन् । –रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS