
कञ्चनपुर । यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन् । उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ ।
आन्दोलनरत शिक्षकहरूले विद्यार्थी भर्ना अभियान रोक्न उर्दी नै जारी गरेका छन् । शिक्षक कर्मचारी आन्दोलनमा रहेका बेला कञ्चनुपरको वेदकोट नगरपालिका–६ सिसैयामा रहेको भुवनेश्वरी माविले भर्ना अभियान अघि बढाएको छ ।
विद्यालय व्यवस्थापन समितिले विद्यार्थी भर्ना अभियान अगाडि बढाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन बोगटीले एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना अभियान कार्यक्रम अघि बढाएका हुन् ।
वैशाख ७ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना कार्यक्रम सुचारु हुने बताएका हुन् । विद्यालय भर्ना हुन आउँदा अनिवार्य रूपमा अभिभावकलाई साथमा ल्याउन अनुरोध गरिएको छ ।
अध्यक्ष बोगटीले शिक्षकहरूले भर्ना नगर्ने उर्दीबाट अभिभावक तथा विद्यार्थीहरू बिचलित नहुन आग्रह गरे । उनले शिक्षकहरू आन्दोलन गरिरहेपनि आफुहरूले भर्ना अभियान अघि बढाएको बताए ।
सामुदायिक बिद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थी शिक्षकहरूको आन्दोलनका कारण रोकिन नहुने बताए । त्यसका लागि व्यवस्थापन समिति र अभिभावक संघले अभियान अगाडि बढाएको उनको भनाइ छ ।रातोपाटी