काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको नवौँ सभा सम्पन्न भएको छ । कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको सभामा उच्च जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।
शिक्षामन्त्री भट्टराईले खुला विश्वविद्यालय उच्च शिक्षामा भौगोलिक तथा अन्य कारणबाट उच्च शिक्षा हासिल गर्न पहुँच नपुगेका युवाहरूलाई लक्षित गर्दै स्थापना भएको बताइन् । त्यो विषयलाई आधारभूत केन्द्र र रिसोर्स सेन्टरको रूपमा विस्तार गरी पहुँच वृद्धि गर्नुपर्ने उनले बताइन् ।
विश्वविद्यालयले अनुसन्धानलाई बढीभन्दा बढी प्राथमिकता दिई उच्च जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताइन् ।
सभामा बोल्दै सभा सदस्य तथा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता कुमारी पौडेल अधिकारीले विश्वविद्यालयले अनलाइन मोड्युललाई बढवा दिन, महिला तथा अपाङ्गाता भएकाहरूलाई आफ्ना शैक्षिक कार्यक्रममा प्राथमिकतासाथ समावेश गर्नुपर्ने बताइन् ।
विश्वविद्यालय उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्यले नीति तथा कार्यक्रम, प्रगति एवम् कार्ययोजना पेस गरेकी थिइन् । रजिष्ट्रार डा. गोविन्द सिंह विष्टले आर्थिक प्रगति, योजना बजेट तथा कार्यक्रम पेस गरेका थिए । सभामा अन्य सभासद्हरूले पेस भएका नीति तथा कार्यक्रम, कानुन संशोधन र योजनाहरूमा आफ्ना विचार र सुझावहरू राखेका थिए ।रातोपाटी
















