images
images

गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

images

धनगढी- कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा सोमबार पहिलो शल्यक्रिया गरिएको हो।

अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।

‘माइनर शल्यक्रियाबाट सेवा सुरु गरेका छौं,’ उनले भने, ‘अब क्रमश: अन्य शल्यक्रियाहरु पनि गर्दै जानेछौं।’ उनले अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने जानकारी दिए।

पहिलो शल्यक्रिया राजाराम नाम गरेका व्यक्तिको गरिएको हो। शल्यक्रिया गर्ने टोलीमा डा अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्पर रोशनी चौधरी थिए।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटामा सेवा विस्तार गर्दै अगाडि बढ्न निर्देशन दिएपछि अस्पतालले उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै सेवा थप गर्दै अगाडि बढेको निर्देशक डा सापकोटाले जानकारी दिए।

अस्पतालमा एक महिना अघि स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको थियो। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ। रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिइरहेका छन्।

गेटामा पछिल्लो समय सेवाहरु थप हुँदै गइरहेको छ। अस्पतालमा दुई महिना अघिदेखि इनडोर सेवा सुरु भएको थियो। अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु भइसकेको छ।
सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएको छ। स्वास्थ्यखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS