पौष १३, बन्दिपुर र डिपि अधिकारी
स्वर्गिय बाबुराम पाटा र स्वर्गिय लालबहादुर पाटा मगरको स्मृतिमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नंं १ छापमा छपेली कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नवौं छपेली कप फुटबल प्रतियोगिता आगामी पुष २० गते देखि शुरु हुने भएको हो । “सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद” भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता दुई विधामा खेलाईने आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष एवं वडा सदस्य समेत रहनु भएका विजय रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुल्ला सेभेन ए साईड नक आउट फुटबल तर्पको विजेता टिमले पुरस्कार एक लाख २५ हजार १ सय २५ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उप- विजेता टिमले ६१ हजार ६१ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने दुई टिमलाई नगद १०/१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष रानाले वताउनुभयो । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनहि नगद २ हजार ५ सय र अनुशासित टिमलाई ५ हजार रुपैया पुरस्कार दिईने आयोजकले जनाएको छ ।
त्यसैगरी ३० वर्ष उमेर भन्दा माथिकाको भेट्रन्स तर्फ पहिलो पुरस्कार भेंडा र दोस्रो पुरस्कार बोका रहेको आयोजकले बताएको छ । छाप खेल मैदानमा आगामी माघ १ गते सम्म संचालन हुने प्रतियोगिताका लागि पौष १९ गते सम्म टिम दर्ता गर्न सकिने बताईएको छ ।
तनहुँको बन्दिपुर गाउँपालिका वडा नंं १ छापमा रहेको छपेली साँस्कृतिक युवा क्लबले प्रत्येक वर्ष माघे सक्रान्ती पर्व तथा मगर दिवशलाई लक्षित गरी खेलकूद प्रतियोगिता गर्दै आई रहेको छ ।