
तनहुँ : वैदिक कर्मकाण्ड अंगाल्दै आएका तनहुँका दलित पुरोहितहरुले जनै पूर्णीमाको दिन विहिबार स्वयंले जनै धारण सहित सामुहिक रक्षाबन्धन गरेका छन् ।
वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँमा आवद्ध दलित पुरोहितहरुले व्यास नगरपालिका ३ व्यास गुफा परिसरमा वैदिक विधि अनुसार रुद्री पाठ र ऋषि तर्पणी पाठ गरी जनै धारण सहित सामुहिक रक्षा बन्धन गरेका हुन् ।
वेदको सारलाई आम नागरिकसम्म पु¥याउन सके सभ्य समाजको निर्माण हुने ठानेर आफूहरुले विधिवत रुपमा जनै धारण सहित सामुहिक रक्षा बन्धन गरेको पुरोहित समाजका अध्यक्ष तिलक विश्वकर्माले जानकारी दिनुभयो । वेदको सारलाई प्रचारप्रसार गर्दै सनातन धर्मको रक्षाको लागि आफूहरु प्रतिवद्ध रहेको समेत अध्यक्ष विश्वकर्माले बताउनुभयो । जनै धारण सहित रक्षाबन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, विश्ववुढा परियार, माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियार लगायतका दलित समुदायका पुरोहितहरु खटिनुभएको थियो । समाजद्वारा व्यास नगरपालिका ३ अनसन चौतारीमा सयौं सर्वसाधारणलाई रक्षा बन्धन गरिएको थियो ।
समाजमा जातिय विभेद कायमै रहेकोले अन्त्यको लागि आफूहरुले जनै धारण सहित अभियान थालेको वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँका सचिव वुढा परियारले बताउनुभयो । सनातन हिन्दु धर्मको रक्षा गर्नु नै आफूहरुको मुल मर्म भएको परियारको भनाई छ ।
दलितहरु पनि आर्य समुदाय अन्र्तगत पर्ने भएपनि जातिय विभेद झेल्दै आउनु दुखद् भएको र यस्ता धार्मिक कार्यक्रमले वेदको सारको व्यवहारिक प्रयोग गर्नेतर्फ सबैलाई अग्रसर गराउने सुनचाँदी व्यवसायी संघ तनहुँका अध्यक्ष विकास सुनारले बताउनुभयो ।
दलित समुदायका पुरोहितहरु संगठित भई वैदिक ज्ञान प्रसारमा लाग्नु सकारात्मक भएको वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेलले बताउनुभयो । वेदले जातिय विभेद नगरेकोले सबै जात समान भएको उहाँले बताउनुभयो ।