काठमाडौं । नेपालमा क्यान्सर रोगमध्ये मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ भने दोस्रो नम्बरमा पाठेघरको क्यान्सर पर्छ । क्यान्सर रोग विशेषज्ञहरू समयमै स्क्रिनिङ गरिएमा पाठेघरको क्यान्सरबाट हुने मृत्युबाट जोगिन सकिने बताउँछन् ।
हरेक वर्षजसो बजेट भाषणमा पाठेघरको क्यान्सरको स्क्रिनिङलाई प्राथमिकता दिइए पनि आर्थिक वर्ष २०८०र८१ मा प्रदेशबाट सञ्चालन गरिने स्वास्थ्यतर्फका सशर्त अनुदान अन्तर्गतका क्रियाकलाप सञ्चालन सम्बन्धी मार्गदर्शनमा सबै जिल्लामा स्क्रिनिङ सेवा नपुगेको पाइएको छ ।
मार्गदर्शनमा पाठेघरको स्क्रिनिङका लागि जम्मा ७ वटा जिल्लामा बजेट विनियोजन गरिएको उल्लेख भए पनि पर्याप्त मात्रामा रकम भने छुट्याइएको छैन ।
एचपीभी डीएनए टेष्टमार्फत पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि कोेशी प्रदेश अन्तर्गत १२ जिल्लामध्ये सुनसरी र उदयपुर जिल्लामा मात्रै ५२ हजारका दरले बजेट विनियोजन गरिएको छ ।
मार्गदर्शनमा मधेश प्रदेश अन्तर्गत महोत्तरी, सर्लाही र रौतहटमा ५२ हजार रुपैयाँका दरले जम्मा १ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
बागमती प्रदेश अन्तर्गत प्रादेशिक स्वास्थ्य निर्देशनालयमा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि बजेट नै विनियोजन गरिएको छैन ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पा जिल्लामा मात्रै पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपञ्चिम प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि बजेट विनियोजन गरिएको छैन ।
३० वर्षभन्दा माथिका महिलाहरूमा एचपीभी डीएनए विधिलाई पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्न प्राथमिकताका साथ सिफारिस गरिएकाले पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७९ ले सिफारिस गरे अनुसार अघिल्लो आर्थिक वर्षदेखि ७ वटा र चालु आर्थिक वर्ष थप हुने २ जिल्ला गरी जम्मा ९ वटा जिल्लामा निःशुल्क एचपीभी डीएनए परीक्षणलाई पाइलट प्रोजेक्टकोे रुपमा लागू गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने क्यान्सर निवारण गर्न अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । १५ वर्षको उमेरसम्मका ९० प्रतिशत किशोरीलाई पूर्ण रुपमा एचपीभी खोप लगाइसक्ने, ३५ वर्षसम्म र ४५ वर्षसम्म गरी दुई पटक स्क्रिनिङ गरी सक्ने र क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाको उपचार सफल बनाउने लक्ष्य छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेरका ६ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।
उता परिवार कल्याण महाशाखा अन्तर्गत परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख कविता आर्यालले गत आर्थिक वर्षसम्म नेपालमा एक लाख ६० हजार जनाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराएको जानकारी दिइन् । यद्यपि नेपालमा क्यान्सरको स्क्रिनिङ तीब्र हुन नसक्दा पाठेघरको क्यान्सर तेस्रो र चौथो स्टेजमा पुगेपछि मात्रै बिरामीले थाहा पाउने गरेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।
सात जिल्लामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रममा ३० वर्षभन्दा माथिका महिला समेटिने गरेको छ । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि एचपीभी डीएनए विधि प्रयोग गरी परीक्षण गर्ने र सोको नतिजा अनुसार प्रारम्भिक व्यवस्थापन गरी आवश्यकता अनुसार थप उपचारका लागि सिफारिस गरिने मार्गदर्शनमा उल्लेख छ ।
यस्तै, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजक, सरोकारवाला लागिसमेत यस विषयमा अभिमुखीकरण गर्नुपर्ने उल्लेख छ ।
के हो स्क्रिनिङ भनेको ?
भिजुअल इन्स्पेक्सन विथ एन्सेटिक एसिड ९भीआईए० परीक्षण भनेर राष्ट्रिय निर्देशिकामा पनि उल्लेख छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेले यो भीआईए परीक्षण स्वास्थ्य संस्थाका नर्सहरूले तीनचार दिन तालिम लिएपछि पाठेघरको मुखमा क्यान्सर भए नभएको पत्ता लगाउन सक्ने बताइन् ।
भीआईएलाई टेस्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गरेर यस क्यान्सरबारे जानकारी पाउन सकिने उनको भनाइ छ । यीमध्ये प्याप स्मेयर राम्रो परीक्षण हो । यो परीक्षण सुरु भएको सय वर्ष पुग्न लाग्यो । तर गुणस्तरीय परीक्षण गरिएन भने नतिजा राम्रो नदिन सक्ने उनले बताइन् ।