images
images
images

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण हुने

images

युएई । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा.अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।

कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए ।

सो क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ ।

मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा गरे ।

गत मंसिरमा काठमाडौंमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यन्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो ।

नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।

कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ ।

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा पनि छलफल भएको छ ।

मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।

images