खेलकुद मार्फत पर्यटकीय ऐतिहासिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य : नगरप्रमुख न्यौपाने
तनहुँ । तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर महिला हाफ म्याराथन यहि फागुन २४ गते र पाँचौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता फागुन २८ गते गर्ने भएको छ ।
व्यास नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी दुबै म्याराथन गर्न लागिएको जानकारी गराएको हो । म्याराथनको लागि तयारी अन्तिम चरणमा रहेको खेलकूद विकास समितिका अध्यक्ष एवं व्यास ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि माघ १६ गते शहिद दिवसको अवसरमा व्यासनगर अल्ट्रा म्याराथनको आयोजना गरिने गरेतापनि कोरोनाका कारण स्थगित गरिएकोले पुन: संञ्चालन गर्न लागिएको उनले बताए ।
नारि दिवसको अवसर पारेर दमौलीको व्यास गुफा देखि व्यास-११ को तनहुँसुर दरबार सम्म २१ किलोमिटर दूरीको महिला हाफ म्याराथन हुने नगरपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पर्यटकिय ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान नारा दिएर म्याराथन आयोजना गरिएको बताए ।
महिला हाफ म्याराथनमा प्रथम पुरस्कार रु.४१ हजार ७८, द्धितीय रु.३१ हजार ७८, तृतीय पुरस्कार रु.२१ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई रु.११ हजार ७८ कर बाहेक प्रदान गरिने व्यास नगरपालिकाकी उपप्रमुख मीरा जोशीले जानकारी दिइन् ।
त्यसैगरी व्यास नगरपालिका–५ मानहुँकोटदेखि व्यास–८ को पुलिमराङ शहिद पार्क सम्मको ४४ किमी दुरीमा हुने व्यासनगर अल्ट्रा म्याराथनमा प्रथम पुरस्कार रु.८५ हजार ७८, द्धितीय रु.६५ हजार ७८, तृतीया रु.५५ हजार ७८ र सान्तवना पुरस्कार पाँच जनालाई जनही रु.१६ हजार ७८ का दरले प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दुई वटा म्याराथनको लागि रु.२२ लाख बजेट बिनियोजन गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिए । पुरुष तर्फ करिब २ सय र महिला तर्फको म्याराथनमा १ सय ५० धावक सहभागि हुने बिश्वास गरिएको नगरपालिकाले जनाएको छ ।