म बि सं २०४० सालमा नेविसंघको जिल्ला सदस्य हुँदै थुप्रै विद्यार्थीलाई नेविसंघ बनाउँदा पटक पटक पक्राउ परेको ब्यक्ति हुँ। कलेजमा नेविसंघलाई जिताउन दिलो ज्यान नदिएको पनि होइन। बि सं२०४६ सालको जन आन्दोलनमा भाग लिएर प्रजातन्त्र ल्याउनुमा मेरो पनि योगदान छ। ल भन्नुस् नेपाली कांग्रेसको राजनीति गर्नलाई के के योगदान हुनुपर्ने हो र के के म सँग छैन?
नेपाली कांग्रेसको राजनीतिका क्रममा मेरो बुबा गोविन्दराज जोशी जो सँग मलाई गृहकार्य गराउने फुर्सद कहिल्यै भएन। उहाँलाई मेरो भन्दा बढि जनाताको छोराछोरीको शैक्षिक भबिस्यको चिन्ता थियो।मेरो बुवाले मलाइ दसैंमा लुगा किनेर ल्याइदिनु भएको सम्झना म सँग छैन। अरु त अरु सँगै खाना खाएको पनि सम्झना छैन। किनकि उहाँ परिवार छोडेर तपाईँको स्वतंत्रताको वकालत गर्दैमा व्यस्त हुनुहुन्थ्यो। उहाँ अहिले तपाईले गरिराख्नुभएको राजनीतीको वातावारण बनाउने कार्य गरे बापत थुप्रै पटक जेल पर्नुभएको छ। शिक्षित बुबा जेलमा र साधरण लेखपढ गर्ने आमासँग हुर्केको मलाई बुवा जेलबाट फर्कनु हुन्छ कि हुँदैन भन्ने सोचाइले धेरै सताउँथ्यो र पनि हामी र हाम्रो परिवारले कहिले पनि व्यक्तिगत स्वार्थलाई मान्यता दिएनौँ। जहिले पनि बुवाले जनताको पक्षमा हिँडेको बाटोलाई समर्थन गर्यौँ।जुन समयमा बुवा जेलमा हुनुहुन्थ्यो हामीले बिना बाबुको सहयोग हुर्किएको समयको भरपाइ के हुनु सक्छ? तपाइको के योगदान छ भन्नेहरुको के योगदान छ र जो नेपाली कांग्रेसको राजनीति गर्नलाई योग्य छन्?जेल सार्ने क्रममा मेरो बुवालाई तत्कालीन पञ्चायती व्यवस्थाले मारी दिएको भए म टुहुरो हुन्थेँ। जुन कुराको पनि बेवास्ता गर्दै सदैव जनताको पक्षमा हिँड्ने मेरा बुवाको समर्थनमा हिँड्नु सानो त्याग हो र?
पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको अभियोगमा बुबा गोर्खा जेलमा हुनुहुन्थ्यो । म त्यतिवेला बाह्र÷तेह्र वर्षको थिएँ । दसैँको वेला टीका लगाउन गोरखा जेलमा जाँदा सानो बालकको मनमा के पर्यो होला? मानसिक रुपमा म र मेरो परिवार कति विक्षिप्त अवस्थामा थियौँ होला त्यसको क्षतिपूर्ति के? बाल्यकालमा जब मलाई फुटबल खेल्न रहर हुन्थ्यो तब खेलकुद परिषदबाट फुटबलको कोचले फुटबल सिकाउन जाँदा म आफू नेपाली कांग्रेसको छोरो भएकै कारणले निकालिएको छु। कलिलो उमेरमा आफुलाई रहर लागेको बिषय म आफु गोविन्दराज जोशीको छोरा भएकै कारणले गुमाउनु पर्दा म भित्र कुन आगो उम्लियो होला? त्यसको हिसाब किताब दिनुहुन्छ खोइ? जब कि मेरो योगदानको लेखाजोखा गर्नमा हतारो छ मान्छेलाई यहाँ!
अब रह्यो जिल्लामा नै बसेर राजनीती गर्नु पर्ने कुरा। बिद्यालय स्तरको पढाई सके पछि कलेज जानु, कलेज पास भएपछि लोकसेवा दिएर जागिर खानु गल्ती हो?आफ्नो बलबुता र मेहनतले उच्च शिक्षा हासिल गर्न विदेश जानु पनि गल्ती हो? मैले मेरो बुवा गोविन्दराज जोशीको पद र ओहोदाको गलत प्रयोग नगरीकन, कुनैपनि गरीब जनताको छोराछोरीका नाउँमा आउने छात्रवृत्ति आफ्नो पोल्टामा नपारीकन अमेरिका गएर २ वटा विषयमा स्नातकोत्तर गर्नु र तत्पश्चात फेरि आफ्नै माटोमा फर्कनु पनि गल्ती नै हो? मैले माथिका मध्ये केहि नगरी दमौलीमा नै बसेर ठुला गफ लगाएर भाषणको राजनीति गर्नु पर्ने?
हुन त यहाँ मेरो मात्रै होइन मेरो बुवा गोविन्दराज जोशीको पनि ठुलो गल्ती भएको छ जस्तो कि उहाँ शिक्षा मन्त्री हुँदा छात्रवृत्ति नबेच्नु, जलस्रोत मन्त्री हुँदा खोला नाला नबेच्नु, रक्सी टन्न पिएर डान्स बार धाउन नसक्नु , क्यासिनोमा गएर जुवा खेल्न नसक्नु, रातो राहदानी बेच्न नसक्नु , सुरवा बढुवामा पैसा खान नसक्नु , बुवा गृह मन्त्री हुँदा नागरिकता बेच्न नसक्नु, एयरपोर्ट बाट सुन ओसारपसार गर्न नसक्नु आदि जस्ता थुप्रै गल्ती भएको छ उहाँबाट पनि।र म बाट पनि उहि गल्ती भएको छ। जो बुवाबाट भएको थियो। त्यसपछि का बीभिन्न पार्टीका मन्त्री तिनका छोरा छोरी ले के के गरे के गरेनन त्यता पनि ध्यान दिएको भए केहि जानकारी आउथ्यो कि ?
अब कुरा बिमर्श गरौँ कि जिल्लामा नै बसेर राजनीती गर्नेहरुको के योग दान छ त? बिसं २०३६ सालमा बहुदलले जितेको जिल्ला र बिसं २०४६ साल पछिको चुनाबमा ८० प्रतिशत भन्दा बढी भोटले चुनाव जितेको जिल्लामा अहिले नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्य हुँदै गर्दा त्यही जिल्लाले ६ वटा सिट नै गुमाउनु पर्यो। त्यति मात्र नभई अस्ति मात्र भएको चुनाबमा उपल्लो सदनमा कांग्रेसले माओबादीलाइ भोट हालेर जिताउनु पर्यो। अब भन्नुहोस् जिल्लामा बसेर राजनिति गर्नेले समाजको त कुरै छाडौँ कांग्रेसलाइ के योगदान दिए? गुणात्मक त पर जाओस् संख्यात्मक हिसाबले कति कांग्रेसमा कति बृद्धि भयो?
यति हुँदाहुँदै पनि तपाईं म माथि निर्धक्क भएर औँला उठाइरहनु भएको छ जबकि आज तपाइँलाई निर्धक्क भएर औंला ठडाउन योग्य बनाउने वातावरण सृजना गर्ने मध्ये म पनि एक हुँ। राजनीती जागीर होइन। आफ्नो आफ्नो ठाउँबाट सबैले त्याग गरेका छन्। जुन कुरा मैले पनि गरेको छु । प्रत्येक जनाताको छोराछोरीको योगदान हुन्छ राजनितिमा भलै तिनले ठुला कुरा र चर्का भाषणबाजी गर्दैनन्।
देश र राजनीतिप्रति आफ्नो जिम्मेवारी निभाए बापत मेरो बुवा गोविन्दराज जोशीले के पाउनुभयो भन्नेतर्फ जान चाहन्नँ । तर म केबल गोबिन्दराज जोशीको छोरा मात्र नभएर एउटा क्रान्तिकारी चेतनाको परिवर्तन चाहने लोकतान्त्रिक व्यवस्थामा बिस्वास राख्ने युवा हुँ र पनि मेरो योगदान र योग्यतामा प्रश्न किन? तपाईं भनिदिनुस् महोदय यहाँ तपाईं र तपाइ जस्तै काङ्ग्रेस भित्र हुनेको के के र कस्तो कस्तो योगदान छ? तपाईं काङ्ग्रेसमा हुनको निम्ति कुन कुन योग्यता प्राप्त गरेर आउनुभएको हो?
अब रह्यो चुनाबमा भोट हाल्ने कुरा , मन लाग्छ भोट हाल्नु , मन लाग्दैन भोट नहाल्नु।तर तपाइले कसैलाई हराउदै गर्दा आफै हार्नु भयो भने के गर्नु हुन्छ ? भोली तपाईंका भाबी सन्ततिले हाम्रो जीवन कीन दुःखी छ र हामी किन हार्यौ भनेर प्रश्न गर्दा, मैले कसैलाई हराउदा म आफै हारे भन्ने जबाफ दिन नपरोस ।
सबैलाई भलो होस सबैको जय होस !