अस्मिता खनाल/
दमौलीका ६१ वर्षीय अईतबहादुर विश्वकर्माले ११ वर्षको उमेरदेखि आरन चलाउन थाले । भान्सामा प्रयोग हुने चुलेसी देखि कोदालो, बञ्चरो जस्ता कृषि औजारका सामाग्री, पानीका मिटर, सामुदायिक वनको टाँचा सम्म बनाएको अनुभव विश्वकर्मा संग छ। समाजले जति सुकै छि छि दुरदुर गरेपनि उनी “उनीहरुको दिमागले जस्तो भ्यायो त्यस्तै गरे” भनेर नि–संकोच आफ्नै ईलममा खटिईरहन्छन् विश्वकर्मा । उनको कर्मयात्रामा जे जति मान्छे भेटिए, धेरैजसोले तल्लो जात भनेर हेपेर व्यवहार गरें, तर उनले एकाध त्यस्ता मानिस पनि भेटें, जो जात भन्दा माथि उठेका वास्तविक मानव थिए ।
८० वर्षका बाहुनले हात समातेर भान्सामा लगी चिया पियाएको दुर्लभ अनुभव पनि छ उनीसंग । “अमरराज कैनीका ८० वर्षका बुवाले पाखुरामा समातेर भित्र लगेर चिया ख्वाए, हामी पुरानो चलन छ. भनेर डरले बाहिर बस्न खोज्याछम्, तर उनले हामी सबै मानव समान हुम् भनेर भित्र चुल्हैमा लगे, अहिले उनी मरेर गए, तर मलाई अहिल्यै जस्तो लाग्छ, कसैले फेरि पिढिमै बस्दा नि छिः छिः र दुर दुर गर्छन्, यो सबैको कारण भनेको सोचाईमा कमी हो।”
“एकजना बाहुनी बज्यैले मोथ्दा मोथ्दैको ठेकी फुटेर बनाउन ल्याईन, उत्तिखेरै बनाएर लैदिए, भित्र पस्छ कि भनेर डराउँदै आईन् र आँगनबाटै ठेकी लगिन् । मैले बनाईदिएको ठेकीमा मोही मथेर खाईन्, मेरो सीप चल्यो तर म चाहि अछुत भए ।”
६ दशक पार गरिसकेका विश्वकर्माको उमेरयात्रामा जात संग जोडिएका यस्ता हजारौं घटना विर्सन नसकिने छन् । फरक यत्ति हो, मन खुशी बनाएर सम्झन लायक घटना औलामा गन्न सकिने मात्रै छन् । स्वाभिमानमा धक्का पु¥याउने गरी मन विझाउने विभेदका कहानी गन्नै सकिदैंन, सम्झदाँ छाती चिरिने भएपछि त्यस्ता कुरालाई मनमा होईन पैतलामुनि किल्चिन वेश ठान्छन् विश्वकर्मा । त्यसैले त चुपचाप परम्परागत “ईञ्जिनियरिङ” पेशामा खटिईरहेका छन् अहिलेसम्म । आरन पेशा उनलाई “ईञ्जिनियरिङ” भन्दा पनि महत्वपुर्ण लाग्छ, कृषि कर्म संग जोडिएका छ आरनको काम। विश्वकर्माका अनुसार आरनहरुलाई आधुनिक बनाउँदै यहीं पेशामा लाग्ने हो भने पैसा कमाउन विदेश जान पर्दैन। तर आरनमा काम गर्नेहरुलाई अरुले हेप्ने भएरै होला नयाँ पुस्ता यो पेशामा आकर्षित छैनन् । कामलाई सम्मान नगर्ने, जातको आधारमा फरक फरक व्यवहार गर्नेहरुको दिमागको हालत, चेतनाको स्तर देखेर उनलाई उनलाई दया लाग्छ, त्यसैले मुजा परिसकेका चेहेरामा मुस्कानको क्रिम दलेर फुकिरहन्छन्, आरनमा रातो आगो ।
शुक्लागण्डकी गिता परियारको घर मन्दिर नजिकै छ । बेलाबेला मन्दिरमा धार्मिक अनुष्ठानका कार्यक्रम भईहन्छन् । त्यस्ता साझा धार्मिक मेलाहरुमा सहभागी हुदाँ ठुला भनिने जातका कतिपय मानिसले गर्ने व्यवहारबाट उनी अपमानित भएको महशुस गर्छिन् । “धर्म त हामीलाई नि गर्न मन लाग्छ, शिवरात्रीमा मन्दिरमा फोहोर टिप्न जाँदा एकजनाले मन्दिरको बत्ती छोईएला, ओई किन यता आको? भन्नुभयो, मैले त्यहाँ टिप्दाटिप्दैको फोहोर छोडेर, चउरको फोहोर टिपे।” परियारले भनिन् । मन्दिरका पुजारीले ब्रत बसेको बेला दमै, कामी संग बोल्यो भने ब्रत पुर्ण हुदैंन भनिदिएपछि सधै बोलिरहने महिलाहरु आफुसंग बोल्नै छाडेको घटना समेत उनले सुनाईनन् । “एक जना महिलालाई यहाँका पहिलेका पुजारीले तल्लो जातका संग बोल्यो भने धर्म भ्रष्ट हुन्छ भनेर भन्नुभयो, उहाँ दिदि पनि हामीसंग ३ महिनासम्म बोल्नुभएन, तल्लो जातसंग बोल्दा धर्म लाग्दैन, जात जान्छ भन्छन् ।” परियारले भनिन् । “सबैको मान सम्मान एउटै हुनुपर्ने त हो नि तर के गर्नु संगै घुम्न जादाँ पनि एउटै बेञ्चमा परियो भने पर सरेर बस्छन्, हामी दलित भनेर खसालेरै होला ! आजकल त उनीहरु तर्किनु भन्दा मै पहिल्यै तर्किन्छु ।”
शिक्षिका ईश्वरी गहतराजले साना नानीहरुलाई छुवाछुत विरुद्दको पाठ पढाउँछिन् तर समाजले तल्लो जातको मान्छे भन्दै उनैलाई अछुतको व्यवहार गरिरहेको छ। हिन्दुधर्ममा आस्था राख्ने गहतराजले मंगल चौथीको पुजा गर्छिन् । सामुहिक रुपमा लगाईने पुजामा उनलाई सहभागी गराउन खोजिएन तर उनले सार्वजनिक स्थानमा हुने भेदभाव सहन मानिनन् र पुजा गर्न मन्दिर पुगिन्। उनलाई समूहमा सामेल गर्न नचाहेकाहरु उनलाई देखेपछि मन्दिर नै आउन छाडेर घरको छतमा पुजा गर्न कस्सिए तर उनी संगै मन्दिरमा बसेर पुजा गर्न तयार भएनन् । विभेद नसहने स्वभावकी गहतराजले छुवाछुत विरुद्द बोलिरहन्छिन्, हर सामाजिक क्रियाकलापमा आफ्नो सहभागिता देखाउछिन् । समाजले स्वीकार गर्न नमानेपनि उनी निरन्तर संघर्षमा छिन् ।
“मन्दिरमा महायज्ञ आयोजना भयो, हामी श्रीमान श्रीमतीकै आम्दानी छ भनेर आर्थिक सहयोगको अनुरोध गर्नुभयो। सकेको दान हामीले पनि ग¥यौ । तर मन्दिरमा म पुजा गर्न आउँदा अरु तर्किने ? हामीले गरेको पैसा चल्ने, हामी नचल्ने कसरी ?”
गहतराजले सासुको चौरासी पुजामा समाजका सबैलाई निम्तो गर्दा खाना खान समाजका मान्छे आईदिएनन् । “आफूले मात्रै बुझेर के गर्नु, समाजले विस्तारै बुझ्ला, हामीले पकाएको खान उहाँहरुलाई असहज लाग्ला भनेर रिमाल थर भएकाको क्याटरिङ बोलाएर भोजको व्यवस्था ग¥यौं, मेरा शिक्षक साथीहरु आएर सामेल हुनुभयो तर आफ्नो ठानेर निम्ता गरेका ठुला जातका मेरै छिमेकीहरु खाना खान आएनन्, पैसा मात्रै खेर गयो ।” सामाजिक रिति रिवाज निभाउन पनि कति गाह्रो, समाजमा सामेल नहुने कुरा भएन, संगै अघि बढ्न खोज्दा खुट्टा तान्नेहरु बढि निस्कछन्। गहतराजलाई लाग्छ, समाजले अझैसम्म पनि मान्छे मान्छे एकै हो भन्ने भावना आत्मसात गर्न खोजेको छैन ।
ईश्वरीका श्रीमान काजीराम सुनारका मनमा पनि विभेद महशुस गराउने पहिलेका होईनन् हालसालैका थुर्पै व्यवहारले किला गाढेर बसेका छन् । उनले सुनाए “सानैदेखि संगै हुर्किएको छोराको साथीले बिहेमा निम्तो ग¥यो, पटकपटक फोन गरेर पनि जसै आउनुस् है बाबा भनेर अनुरोध ग¥यो । बिहेमा जन्ती गए, सबै लाममा बसेर भोज खाईयो, भोलीपल्ट प्रितिभोजमा पनि गए, नयाँ दुलहा दुलहीलाई आर्शीवाद र उपहार दिए, सबै लाईन लागेको ठाउँमा म पनि उभिएको थिए, तर एकजना समाजका प्रतिष्ठित व्यक्तिले नै ए बाबु यता आउनुस् भन्दै बोलाउनुभयो, म गए, के गर्नु हिजो अरुको ठाउँ संगै बसेर खाईयो तर आफ्नो गाउँठाउँमा चलिआएको परम्परा तोड्नुहुदैंन, यहाँ टेबलमा बस्नुस्, म यहीँ खाना ल्याईदिन्छु भनेर भन्नुभयो,” मलाई आत्मसम्मानमा नै चोट लागेको अनुभुति गरें,। त्यहाँ अपमान सहेर मलाई खाना खानु बेकार लाग्यो, निम्तो मान्न गएको म आधा दिउँसो भोकै घर फर्कीए ।” सुनारले भने “समानताको कानुन छ भनेर मात्रै हुदोंरहेनछ, गरिने व्यवहार उस्तै छ । अपमान गरेको मनले सहन मान्दैन सम्मान सहितको समानता खोज्दा नजाती भैईन्छ, परम्परा विरोधी भईन्छ ।”
विश्व हिन्दु महासंघको सदस्यता पनि लिएका सुनारले बाबुको श्राद्द गर्न ब्राम्हण पुरोहित बोलाउँदा आउन मानेनन् । सुनारले भने “हुन त मैले हाम्रै जातका पुरोहितबाट श्राद्द गराउँदै आएको छु, तर हिन्दु महासंघको सदस्यता लिएको भएर समान व्यवहार गर्छन् गर्दैनन् भनेर विचार गर्न एकपटक बाहुन जातका पण्डित बोलाएँ, भ्याएको छैन भन्दै आउन मानेनन्, फेरि अर्को नम्बरबाट फोन गरेर जात ढाँटेर श्राद्दको लागि बोलाउँदा त्यही पण्डित त्यही समयमा आउन तयार भए । हामीलाई अहिलेसम्म पनि मान्छे नै मान्न तयार हुदैनन् ।”
कोत्रेकै रितु नेपालीले आफ्ना आफन्तको मृत्यु संस्कारमा सामाजिक क्रियापुत्री भवन प्रयोग गर्दा वचन खेप्नुप¥यो । संयोगवश दलित र गैरदलित समुदायका मानिसको २ दिनको फरकमा मृत्यु भयो । क्रियापुत्री भवन दलितले प्रयोग गरें भनेर गैरदलितहरुले असन्तुष्टि पोखे । रितु भन्छिन् “पुस्तान्तरण हुदैं विभेद कम हुदैं गएको जस्तो त लाग्छ, पुर्खाले सहनुभयो, हामीलाई सहन स्वाभिमानले दिदैंन, तर अझै कतिञ्जेल अपमान खपेर बस्ने हामी ? जानेबुझेका, समाजका अगुवाई गर्नेहरुले समेत भेदभाव गर्छन् ।”
म्याग्दे गुणादीका दलबहादुर विश्वकर्माका अनुसार देशमा राजनितिक व्यवस्था बदलिए पनि दलितको अवस्थामा उल्लेख्य परिवर्तन आउन सकेको छैन । अन्याय अत्याचार विरुद्द बोल्नुपर्छ, छुवाछुत विरुद्द कानुनी अधिकारको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा केही चेतना आएको छ । तर समाजमा गरिने व्यवहार पुरानै छ । जबसम्म न्याय दिने ठाउँमा, निर्णय गर्ने ठाउँमा दलित समुदाय पुग्दैनन् । तबसम्म पिडितले न्याय पाउन नसक्ने उनको वुझाई छ । प्रहरी प्रशाशन, न्यायालय लगायतका क्षेत्रमा दलित छैनन् । जसले उत्पीडन भोग्नुपरेको छैन उसलाई विभेदको महशुश नै हुदैंन, त्यसैले जातीय विभेदका उजुरीहरु दर्ता गर्न नै खोजिदैन, दर्ता भैहाले पनि कार्वाहीमा आलटाल गरिन्छ ।
सरकारमा दलितको प्रतिनिधित्वलाई वडा सदस्यमा सिमित गरिएको उनी बताउँछन् । वडा अध्यक्ष देखि संघीय संसद, सरकार सम्म दलितलाई प्राथमिकतामा अवसर दिनुपर्ने विकको भनाई छ । “राजनितिक दलहरुले पनि दलितलाई केबल भोटका लागि प्रयोग गरें, तिमीलाई विभेद मुक्त गराउँछु, ईज्जत दिन्छु, प्रतिष्ठीत बनाईदिन्छु भन्दै दलको सदस्य बनाउँछन्, समाजमा हुने विभेद विरुद्द पार्टीको साथ सहयोग खोज्दा न्यायको पक्षमा वकालत गर्नुभन्दा पहिले आफ्नो पार्टीलाई आउने भोट लाई असर गर्छ कि गर्दैन भनेर सोच्दछन् र त्यस्ता घटना थामथुम पारेर मिलाउन खोज्छन्” विश्वकर्मा भन्छन् । जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेका दलितहरु विभेदपुर्ण व्यवहारहरुका विरुद्द दलहरुमा विभाजित नभई एकमुख हुने हो भने पक्कै कसैले हेप्न सक्दैन ।”
विभेद विरुद्द आवाज उठाउँदा, न्याय खोज्दा दलितले पाउने आरक्षण र कोटाको विरोध हुनेगरेकोमा उनी आक्रोशित छन् । दलितले भोग्नुपरेको भेदभाव र छुवाछुतको अन्त्य भएको दिन कोटाको आवश्यकता नपर्ने उनको भनाई छ । अहिलेको सामाजिक स्थितिमा दलितलाई हरेक क्षेत्रमा ५० प्रतिशत कोटा दिएर अगाडी ल्याउनुपर्ने उनको मत छ । “तिमी सरह ठानेर व्यवहार गर, तिमीले भेदभाव गरिरहने, हेपिरहने, अनि अलिकति पाएको कोटाको पनि विरोध गर्ने ? देशमा भेदभाव शुन्य भएको दिन हामीलाई १ प्रतिशत पनि कोटा चाहिंदैन । तर अहिले दलित र गैरदलित बिच कति खाडल छ, प्रेम गरेर अन्र्तजातीय विवाह भयो भने मारिरहनुपरेको छ, पधेँरोमा जादाँ अझैपनि पानी भर्न अन्तिममा पालो कुर्नुपर्ने वाध्यता छ, परम्परादेखि काममा मात्रै दलाएर शिक्षाबाट वञ्चित गरिदाँको असर स्वरुप जान्ने बुझ्ने मौका पाईएको छैन, अनि पछाडी पारिएको वर्गलाई संगसंगै ल्याउन केही अवसर दिदाँ त्यसमा पनि रिस गर्ने ?”
केही वर्षमा शिक्षा र रोजगारीमा अहिलेको भन्दा वढि अवसर दिएमा दलित बनाईएका जात दलित होईन सम्मानित समान जातीका रुपमा स्वीकार्य हुनसक्छन् भन्ने विश्वकर्माको विश्वास छ । नेपालको संविधानले राज्यका सबै नागरिकलाई समानताको हक मौलिक हकका रुपमा प्रदान गरेको छ । संविधान अनुसार धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्यस्थिति, वैवाहिकस्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्न पाईदैन । यस्तै, कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन, भनेर संविधानमा लेखिएको छ । जातको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दर्शाउने, छुवाछूत तथा भेदभावजन्य कार्य गर्नेलाई सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय गरिने र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने कुरा पनि संविधानले उल्लेख गरेको छ । संविधानमा लेखिएको समानताको हक, छुवाछुत विरुद्दको हक, सामाजिक न्यायको हक पढेर मात्रै हुदैंन पालना गर्नुपर्छ ।
हामी र हाम्रो समाज एकपटक हेरौं, आफुले जानेर वा नजानेरै गरेका व्यवहार समीक्षा गरौं । हामीले पनि असमान व्यवहार गरिरहेको वा सहिरहेका छौं । व्यवहार बदलौं । समतापुर्ण समाज निर्माण गरौं ।