प्रहरी कार्यालयहरुमा बारम्वार अनलाइन ठगी सम्बन्धी उजुरी र निवेदन परी जनसाधारणले ठगिएको महसुश गरिएको कारणले यस लेख मार्फत त्यस्ता ठगीहरूलाई न्यूनीकरण गर्न मद्दत पुग्ने हेतुले यो लेख लेख्ने प्रयास गरिएको छ । यो बिषयबस्तुको अध्ययन पश्चात पाठक बर्गको सचेतनामा अभिबृद्दि हुन जाने र ठगिने क्रम न्यून हुने अपेक्षा समेत लिइएको छ ।
सामान्यतया अनलाइन ठगी भन्नाले बिविध सामाजिक सञ्जालहरुको प्रयोगमार्फत सर्वसाधारण नागरिकहरूलाई बिभिन्न प्रलोभन, लोभ लालचमा पारी आर्थिक ठगी गर्ने कार्यलाई अनलाइन ठगी भन्ने बुझिन्छ । बिशेष गरी व्हाट्स एप (WhatsApp), भाइवर (Viber), इमो (Imo), फेसबुक मेसेन्ज र (Messenger) लगायतका अनलाइन एप्लिकेसनहरु यस्ता अनलाइन ठगीको माध्यमहरू हुन् ।
ठगी गर्ने वर्तमान प्रवृत्तिहरुः
१. इमो मार्फत सर्वसाधारण मानिसहरूलाई कल गर्ने र तपाइँलाई २५ लाख भारतीय रूपैयाँको के.बि.सी चिट्ठा परेकोले सो को लागी तपाइँले पाँच लाख नेपाली रूपैयाँ कर तिर्नु पर्दछ । तपाइँको खाता नं. पठाइदिनु, तपाइँले अहिलेलाई २५ हजार र पछि पटक पटक गरी ५० हजारको दरल IME/ Bank Transfer गरे पनि हुन्छ भनेर बिभिन्न प्रलोभन देखाई पैसा हाल्न लगाउने र जतिसम्म पीडितले पैसा हाल्न सक्छन् बिभिन्न बहाना बनाई लगातार पैसा हाल्न लगाउने जवसम्म पीडितलाई आफू ठगिएको थाहा हुँदैन तबसम्म निरन्तर पैसा पठाइरहने गरेको प्रहरीको सम्पर्कमा आएका पीडितहरूले बताउने गरेको पाइन्छ ।
२. प्रकरण नं. १ मा लेखिए बमोजिम अन्य सामाजिक सञ्जाल भाइबर,व्हाट्स एप प्रयोग गरी ठगी गर्ने गरेको समेत देखिन्छ ।
३. फेसबुक मेसेन्जरको प्रयोग गरी बिभिन्न कार्यक्रमको लागी प्रलोभन र झुक्यानमा पारी अनलाइनमार्फत ठगी गर्ने गरेको समेत पाइन्छ जस्तो फेसबुकमा आफू अन्तरराष्ट्रिय अस्पतालको डाक्टर भएको र तपाइँको ठाउँमा केही रकम लगानी गरी अस्पताल खोलिदिने आफ्नो इच्छा भएकोले सो को लागी वाताबरण तयार गर्नुस त्यो अस्पतालको मुख्य मानिस तपाइँलाई बनाउँछु । सो कार्यको शुरुवाती चरणमा तपाइँले केही रकम योगदान गर्नुस भनेर एक जना पीडितलाई झण्डै ६ लाख रूपैया ठगी गरे पश्चात मात्रै निज पीडित प्रहरीको सम्पर्कमा पुगेको बारेमा त यस पङ्क्तिकार स्वयमं जानकार रहेको थियो ।
४.ह्वाट्सएपको प्रयोग गरी तपाइँलाई एउटा सामान चिट्ठाको रूपमा परेको र त्यो सामान कुरियर गरी पठाउदाँ नेपाली ४० हजार रूपैया लाग्ने हुँदा सो रकमको माग गरी ठगेको पीडितहरूले प्रहरीकोमा गुनासो र उजुरी गरेको पाइन्छ ।
५. एक जना महिला प्रेमजालमा परी आफ्नो बैंक खाता र इसेवाको पासवर्ड दिँदा आफ्नो खाताको रकम गायव भएको र पछि सो मानिस सम्पर्कमा नआए पश्चात प्रहरी कार्यालयमा उजुरी गर्न आएकी थिइन ।
६. यसरी ठगिएका रकमहरूको स्थानान्तरण हेर्दा आइ एम ई गरी पठाइएका रकमहरू प्रायस् भारतको सीमाना जोडिएका बैंकका शाखाहरु मार्फत भुक्तानी लिएको देखिन्छ ।
७. ठगहरूले हिन्दी भाषाको प्रयोग गरी कल गर्ने गरेको पाइन्छ ।
८. सकेसम्म कसैलाई पनि यस्तो कुरा नभन्न र प्रहरीलाई त झन भन्नै नहुने कुरा ठगहरूले पीडितलाई आग्रह गर्ने र अन्तिममा त धम्क्याउने समेत गरेको पाइन्छ ।
९. ठगहरुले सकेसम्म महिलालाई पीडित बनाएको देखिन्छ।
१०. सामाजिक सञ्जालहरुमा ठगहरूको प्रोफाइल र आई.डी. बैकहरूको लोगो राख्ने गरेको पाइन्छ ।
११.चिट्ठा परेको फर्जी टिकटहरूको फोटो पठाई पीडितहरुलाई ठगी गरेको देखिन्छ ।
१२. कुनै पनि मानिसको फेक आई.डी.बनाई निजहरुका आफन्तहरूलाई बिभिन्न बहानामा आफुलाई दुःख,समस्या परेको र केही रकम आवश्यक परेको भनी भावात्मक रूपमा ब्लाकमेलिङ्ग गर्ने गरेको गुनासो देखिन्छ ।
१३. ठगी गर्ने ब्यक्तिहरुले अनलाइनको प्रयोग गरी संसारको कुनै पनि ठाउँमा बसेर ठगी गर्ने र ठग्न सक्ने हुने हुँदा सामाजिक सञ्जालमार्फत हुने ठगी कार्यको अनुसन्धानमा प्रहरीलाई समेत निकै मेहनत र समय लाग्ने हुन्छ ।
१४. ठगहरूले सामाजिक संजालको प्रयोग त गर्ने तर यसको सुरक्षित प्रयोगको ख्याल नराख्ने शिक्षित बर्गका प्रायस् महिलाहरूलाई पिडित बनाइएको पाईन्छ ।
माथि बिभिन्न उल्लेखित बाहेक पनि ठगहरूले अन्य प्रवृत्तिहरूको प्रयोग गरी अनलाइन ठगी गर्न सक्ने हुन्छन् ।
अनलाइन ठगीबाट जोगिने उपायहरूः
१.आफूले नचिनेको ब्यक्तिसँग सकेसम्म कुरा नगर्ने ।
२.सामाजिक सञ्जालहरूको प्रयोग सुरक्षित तवरले गर्ने ।
३.आधिकारिक ब्यक्ति, संस्थाको यकीन गरेर मात्र आर्थिक कारोवार गर्ने ।
४.अनावस्यक प्रलोभनमा नपर्ने ।
५.अनलाइन आर्थिक कारोवारका पासवर्ड कसैलाई पनि नदिने, आफ्ना आर्थिक कारोवारहरू गोप्य राख्ने ।
६. नचिनेका मानिसहरूको साथी बन्ने अनुरोधलाई सकेसम्म स्वीकार नगर्ने ।
७. आफूलाई ज्ञान नभएका आर्थिक गतिबिधिहरु बारे आफ्नो नजिकको मानिसहरुसँग सरसल्लाह गरेर मात्र गर्ने ।
८.परिचित नभएका र अनावस्यक अनलाइन लिन्कहरु नखोल्ने, नहेर्ने, बरू डिलिट गर्ने ।
९. आफूलाई सङ्का लागेमा तुरुन्तै साइबर ब्यूरोको नं. ९८५१२८६७७१ वा प्रहरी कन्ट्रोल १०० मा प्रहरीलाई खबर गर्ने ।
अन्त्यमा, बर्तमान अवस्थामा अनलाइनको कारोवार सजिलो त्यो बेलासम्म हुन्छ जुन बेलासम्म हामी यसको प्रयोग सुरक्षित रूपले गर्दछौं । असुरक्षित रुपले गरिएको सामाजिक सञ्जालहरूको प्रयोगले आफ्नो आर्थिक कारोवारको साथै इज्जत प्रतिष्ठा माथि पनि आँच आउने हुँदा सदैब सुरक्षित तबरले मात्रै सामाजिक सञ्जालको प्रयोग गर्ने बानीको बिकास गरौँ । हामीलाई बाटोमा ठेस लाग्न पनि बाटो नहेरी हिडेको हुनुपर्छ भने कोहि कसैले लाखौंको उपहार तेत्तिकै सित्तैमा दिदैन । सधैँ सचेत बनौं, कोहि पनि कहिल्यै पनि प्रलोभनमा पर्ने कार्य नगरौं । माछो समेत लोभमै परेर बल्छिमा पर्न पुग्दछ, तसर्थ ह्याकर्र्रको फिसिड जालमा पर्नबाट बेलैमा सचेत बनौं ।
लेखक प्रहरी नायब उपरीक्षक (डिएसपी ) युबराज तिमिल्सिना हाल अन्र्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यलय काठमान्डौंमा कार्यरत हुनुहुन्छ ।