
काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख छ । कांग्रेस नेता डा। शेखर कोइरालाले आफू सभापति देउवाको स्वास्थ्यावस्थाबारे निरन्तर अपडेटमा रहेको बताएका छन् ।
‘चीन भ्रमणबाट फर्केपछि शुक्रबार र शनिबार सभापतिको स्वास्थ्यावस्था कस्तो छ भनेर जानकारी लिएको थिएँ । आज पनि जानकारी लिएको छु । आइतबार सभापतिजी आफूले सम्पर्क गरेर मलाई बिस्तारै ठिक हुँदैछ भन्नुभएको थियो,’ नेता कोइरालाले भने ।
गत शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका सभापति देउवा र पार्टी केन्द्रीय सदस्य देउवा पत्नी डा। आरजु राणाको स्वास्थ्यावस्थाबारे उल्लेख थिएन ।
तर, पार्टीभित्र देउवाविरोधी गुटको नेतृत्व गर्ने डा। कोइरालाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमणको निन्दा गरेका थिए । कोइरालाले लेखेका थिए, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास छ, उहाँमाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।’
डा.कोइरालाले पार्टीभित्र आन्तरिक रूपमा गुटउपगुट भए पनि बाह्य आक्रमणमा एकजुट हुनुपर्ने बताए ।रातोपाटी