images
images

अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौँ : प्रचण्ड

images

लम्जुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्ना सरकारले गरेका काम जनतामाझ पुग्न नसकेको कमजोरी स्वीकार गरेका छन्।

मध्यनेपाल नगरपालिका भोर्लेटारमा आयोजित स्वागतसभामा प्रचण्डले भने, “हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अरूले कुहेको पिठो बेचिरहेका छन्। त्यसैले हामीले गरेका काम जनतालाई भन्न र सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौँ।”

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुने अवसर मिलेको बताए। बैतडीबाट सुरु भएको अभियान लम्जुङ आइपुग्दा व्यापक जनसहभागिता देखिएकाले आफू उत्साहित भएको उनले बताए।

प्रचण्डले माओवादी नेतृत्वका तीन कार्यकालका उपलब्धिहरूसमेत स्मरण गरे। पहिलो सरकारको समयमा मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता काम भएको बताए। दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलन सम्बोधन हुँदै शान्ति र स्थायित्वको जग बसाइएको उल्लेख गरे। तेस्रो कार्यकालमा सुशासन अभियान, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्याय अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम भएको उनले बताए।

“हामीले गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन्। तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ,” प्रचण्डले भने।

यसअघि रामबजारमा बाजागाजासहित प्रचण्डलाई भव्य स्वागत गरिएको थियो। अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको समर्थनले नयाँ ऊर्जा दिएको र माओवादी केन्द्र नै देशको वास्तविक शक्ति बन्ने विश्वास व्यक्त गरे। रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS