प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता
१६ भाद्र २०८२, सोमबार ०६:२६
काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच भेटवार्ता भएको छ ।
दुई देशका प्रतिनिधि मण्डलसहित ओली र सुसौलिथबीच आज (सोमबार) भेटवार्ता भएको हो । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम छ ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा गएका हुन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी छ । आजै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।