आँबुखैरेनीमा चेपाङ समुदायका पहिलो विद्यार्थी अमृत प्रजाले १२ कक्षा उत्तीर्ण
६ भाद्र २०८२, शुक्रबार ०७:२२
आँबुखैरेनी, तनहुँ आँबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजाले चेपाङ समुदायका पहिलो विद्यार्थीको रूपमा कक्षा १२ उत्तीर्ण गरेका छन् । उनले गाउँपालिकाको सत प्रतिशत छात्रवृत्तिमा अध्ययन गर्दै रामशाह मा।वि। बाट कक्षा १२ उत्तीर्ण गरेका हुन् । अमृत प्रजाको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण चेपाङ समुदाय र गाउँपालिकाका लागि गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
यसै अवसरमा गाउँपालिका अध्यक्ष शुक्र चुमान र अमृत प्रजा बीच विशेष भेटघाट भएको थियो। भेटमा अध्यक्ष चुमानले अमृतको आगामी उच्च शिक्षालाई सहज बनाउन गाउँपालिकाबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटघाटमा चेपाङ, भुजेललगायतका सिमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीतिहरू, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपायहरू, र समग्र विकास प्रक्रियामा ती समुदायको सक्रिय समावेशिता सुनिश्चित गर्ने योजनाबारे पनि छलफल भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्षले अमृत प्रजाको सफलता आगामी पुस्ताका लागि प्रेरणादायी उदाहरण भएको भन्दै शिक्षा नै समृद्धिको मूल आधार भएकाले गाउँपालिकाले यसलाई प्राथमिकतामा राखेको बताए ।