दमौली
सवारी चालकको पेशा प्रायः दैनिक व्यस्तता, यात्रुका गुनासा र सडकका चुनौतीसँग जोडिन्छ। तर कहिलेकाहीँ यिनै चालकले देखाउने सानो इमानदारिताले समाजमा ठूलो सन्देश दिन्छ। त्यस्तै एउटा घटनाले तनहुँमा सबैलाई छोएको छ।
दमौलीदेखि बेल्टारी–जामुनेतर्फ यात्रु बोकेर गइरहेका म्याजिक चालक बसन्त बहादुर अधिकारीले बुल्दी पुल नजिक भेटिएको एक मनीपर्स सुरक्षित राखी अन्ततः वास्तविक मालिकलाई फिर्ता गरेका छन्। उक्त मनीपर्समा १४ हजार रुपैयाँ नगद, बैंक कार्ड, बिलबुक र चालक अनुमति पत्र रहेका थिए। लाइसेन्समा उल्लेख गरिएको फोन नम्बर प्रयोग गरी सम्पर्क गर्दा सो मनीपर्स व्यास–११ रानीगाउँ निवासी दीपेन्द्र अधिकारीको भएको पुष्टि भयो।
बसन्त बहादुर अधिकारीले सम्पर्कपछि दीपेन्द्र अधिकारीकै घर पुगेर सम्पूर्ण सामान सुरक्षित रूपमा हस्तान्तरण गरेका थिए। “इमानदारी नै ठूलो सम्पत्ति हो, अरूको वस्तु प्रयोग गर्नु अपराधजस्तै हो,” उनले सामान बुझाउँदा भनेका थिए।
आजभोलि हराएको सामान भेट्टाउँदा सुरक्षित राख्ने भन्दा पनि आफ्नै स्वार्थ हेर्ने प्रवृत्ति बढ्दो अवस्थामा अधिकारीको यो कदमले समाजमा इमानदारी र विश्वासको मूल्य अझ प्रष्ट्याएको छ।
म्याजिक चालक अधिकारीको इमानदारिताले यो घटना सानो भए पनि समाजलाई ठूलो सन्देश दिएको शिक्षिका बिमला अधिकारीले बताइन । उनले भनिन् “आज पनि यस्ता इमानदार मानिसहरू हाम्रो वरिपरि छन् भन्ने अनुभूति गराउँछ।”















