सामाजिक विकास कार्यालय तनहुँको प्रगतिमा सुधारस् वर्षको प्रगति विवरण,समिक्षा सार्वजनिक
२३ श्रावण २०८२, बिहीबार ०८:१७
.सुशिल लामगादे बि.क.
दमौली, तनहुँ । सामाजिक विकास कार्यालय तनहुँले आ व २०८१/८२ वर्षको उपलब्धिहरू सार्वजनिक गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को समिक्षा गर्दै चालु वर्षका लक्ष्यहरूबारे जानकारी गराएको हो।
कार्यक्रममा कार्यालय प्रमुख विदुरहरी आचार्यले विगत वर्षको समग्र प्रगति विवरण प्रस्तुत गरे।आचार्यका अनुसार, अघिल्लो आर्थिक वर्षमा चालुतर्फ ९२.५० प्रतिशत र पूँजीगततर्फ ८७.०३ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो। पूँजीगत खर्च अन्तर्गत रु ३ करोड ८१ लाख ५० हजार विनियोजन भएकोमा रु ३ करोड १३ लाख २५ हजार ४८४ खर्च भएको उनले उल्लेख गरे।
त्यो अवधिमा विद्यालय भवन, खेलमैदान, मठ–मन्दिर र गुम्बाहरूको निर्माण सम्पन्न गरिएको जानकारी पनि आचार्यले दिए।
अबको चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यालयले रु ९ करोड ४२ लाख बजेट विनियोजन गरिएको आचार्यले जानकारी दिए ।
कार्यक्रमले विगतका सिकाइहरूमाथि चर्चा गर्दै नयाँ योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्यो।