२३ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आगामी दिनहरूमा महिला फुटबलमा कुनै किसिमको विवाद आउन नहुने बताएकी छन् ।
एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार विहान नेपाल आइपुगेपछि विमानस्थलमा कुरा गर्दै उनले टिमले एकजुट खेलेर राम्रो नतिजा दिएको उल्लेख गर्दै यस्तो बताएकी हुन् ।
‘यो हाम्रो टिम भित्रको कुरा हो, अहिले हामीले चाहिँ जुन एउटा एज अ टिम भएर खेलेर एउटा पोजिटिभ रिजल्ट दिइसकेका छौं जस्तो लाग्छ मलाई चाहिँ। त्यसकारण भोलिको दिनमा यो खालको विवाद नहोस्’ नेपाली टोलीको व्यवस्थापन र प्रशिक्षकबीच देखिएको विवादको चर्चाबारे कुरा गर्दै उनले भनिन् ।
‘जति पनि बाहिर बसेर फुटबल हेर्ने उहाँहरु पनि हाम्रो लागि क्याप्टेन सरह नै हुनुहुन्छ र जति पनि यो सेलेक्सन भरी आफ्नो मेहनत गर्नुहुने सम्पूर्ण प्लेयरहरू पनि टिमका लागि क्याप्टेन सरह नै हुनुहुन्छ’ उनले थपिन् ।
साम्बाले यसै छनोट प्रतियोगितामार्फत कप्तानीमा डेब्यू गरेकी थिइन् । उनले नेपालका लागि ३ खेलमा २ ह्याट्रिकसहित कुल ९ गोल गरिन् । कप्तानीको भूमिका पाउँदा सुरुमा केही चुनौती महसुस गरेको उनले बताइन् ।
‘सुरुवातमा अली च्यालेन्ज थियो अनि त्यसमा पनि अलिकति थोरै विवादहरू आइरहेको थियो। त्यसले गर्दा खेरि पनि म मलाई लाग्छ म तीनवटै म्याच हुनुअघिको राति म सुतिन पनि। मलाई छुट्टै किसिमको प्रेसर थियो’ उनले भनिन्, ‘१० देखि ११ वर्ष नेसनल टिममा खेलिरहँदा त्यो एउटा जिम्मेवारी पाउँदा खेरि अवश्य म खुशी पनि थिए र अनि जुन एउटा चाहिँ टिम प्रति मैले देखाउनु पर्ने छुट्टै किसिमको एउटा भूमिका थियो। त्यसले गर्दा खेरि अलि प्रेसरमा पनि थियो।’
नेपालले पहिलो खेलमा लाओसलाई ९-० तथा दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराएको थियो । दुवै खेलमा साम्बाले ह्याट्रिक गरेकी थिइन् । उनले पहिलो खेलदेखि धेरै कुराहरूमा सुधार गर्दै तेस्रो खेलमा पुगेको सुनाइन् । नेपाल निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्दा एसियन कपमा छनोट हुन सकेको थिएन ।
‘हामीले चाहिँ फर्स्ट गेम, सेकेन्ड गेम, थर्ड गेममा हामीले सुधार ल्यायौं र प्रशिक्षकले दिएको ड्युटी अनि सिकाएको ट्याक्टिसलाई फलो गर्यौं। ३ जना मात्र डिफेन्सले पनि हामीले एट्याकिङ फुटबल खेलेर अन्तिम खेलमा पछाडि हुँदा पनि हामीले त्यो एउटा कमब्याक गर्यौं तर दुर्भाग्यवश् हामी पेनाल्टीमा चुक्न पुग्यौं’ उनले भनिन् ।
‘समग्रमा हेर्ने हो भने हामी भन्दा माथिलो लेभलको टिमसँग खेल्न पायौं, धेरै कुराहरू सिक्ने अवसर पनि थियो, हामीले पाएको अवसरलाई सदुपयोग नै गरेको हो भन्ने लाग्छ’ उनले अगाडि थपिन् ।
साम्बाले नेपाली टोलीको फाइटिङ स्पिरिट देखेर सकारात्मक प्रतिक्रियाहरू आइरहने र त्यसले हौसला दिने कुरा उल्लेख गरिन् । ‘टिममा चाहिँ एउटा पोजिटिभ म्यासेज आइसकेको जस्तो लाग्छ मलाई, खेलाडीहरू अनि समर्थकहरूमा पनि जुन एउटा चाहिँ हाम्रो फाइटिङ स्पिरिट सबैले पोजिटिभ म्यासेज अनि पोजिटिभ कमेन्टहरु गर्दिराख्नु भएको छ। त्यसले गर्दा खेरि अझै हामी चाहिँ मोटिभेट छौ’ उनले भनिन् ।
‘मलाई लाग्छ हामी नेपाली फुटबलको उपलब्धिहरूले चाहिँ हाम्रो भोलिको भविष्य निर्धारण गर्छ । हामीले त्यो एउटा रिजल्ट दिन नसक्दा चाहिँ हामीलाई भोलि हामी खेल्न छोडिसके पछाडि पनि यो यो कुराले चाहिँ हामीलाई चाहिँ पिरोली राख्छ जस्तो लाग्छ’ उनले अगाडि भनिन् ।
प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षकसँग खेल्दाको अनुभवबारे सुनाउँदै उनले भनिन्, ‘मलाई लाग्छ तीन हप्तामा ट्रेनिङ गरेर यो खालको रिजल्ट अहिले सम्म हामीले दिन सकेको छौं जस्तो लाग्दैन मलाई, हामीले एटेकिंग फुटबल खेल्नु पर्छ जस्तो सुकै टिम होस् हैन हामी डराएर खेल्नु हुँदैन भन्ने मानसिकता विकास भएको छ ।’
‘मलाई लाग्छ उहाँलाई भोलिको दिनमा एन्फाले राम्रो तरिकाले संरक्षण गरेर राख्न सक्यो भने नेपाली महिला फुटबलको भविष्य चाहिँ मैले अझै राम्रो देखेको छु’ साम्बाले भनिन् ।
उनले महिला फुटबलको विकासका लागि एन्फाले अझै राम्रो योजना बनाएर अघि बढ्नुपर्ने सुझाव पनि दिइन् । ‘मलाई लाग्छ राष्ट्रिय टिम धानेको भनेको विभागीय टिमले नै हो, विभागीय टिम हुन्थेन भने नेपाली महिला राष्ट्रिय फुटबल टिमको चाहिँ अस्तित्व रहन्थेन जस्तो लाग्छ, उनले भनिन्, ‘विभागीय टिम बाहेकको चाहिँ एन्फाको संरचनामा चाहिँ अलिकति हामी कमजोरै देख्छु मैले चाहिँ। अब आउने दिनहरूमा चाहिँ राम्रो भिजन र प्लानिङमा गयो भने चाहिँ मलाई लाग्छ चाँडै नै भोलिको नयाँ जेनेरेसनले चाहिँ अझै राम्रो रिजल्टको लागि चाहिँ फाइट गर्ने छ।’-अनलाइनखबर
















