काठमाडौं : पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला ‘क्लीन स्वीप’ गरेको छ।
साइम अयुबले शतक बनाएपछि पाकिस्तानले तेस्रो एकदिवसीयमा घरेलु टोलीलाई डीएलएस मेथड अनुसार ३६ रनले पराजित गरेको हो।
जोहानेसबर्गस्थित द वन्डरर्स स्टेडियममा वर्षा प्रभावित खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लियो। ४७ ओभरमा झारिएको खेलमा पाकिस्तानले नौ विकेट गुमाएर ३०८ रनको योगफल तयार पार्यो।
ओपनर अब्दुल्लाह साफिक गोल्डेन डक आउट भए पनि दोस्रो विकेटका अयुब र बाबर आजामले ११४ रनको साझेदारी गरे। बाबरले ५३ रनको योगदान गरे। अयुबले १०१ रनको शानदार इनिङस खेले। ९४ बल खेलेका उनले १३ चौका र दुइ छक्का प्रहार गरे। यो शृङ्खलामा अयुबको यो दोस्रो शतक हो। उनले सिरिजको पहिलो खेलमा पनि १०९ रन बनाएका थिए।
यस्तै, मोहम्मद रिजवानले ५३ रन थपे। सलमान आघाले ४८ र तयब ताहिरले २८ रन बनाए। बलिङतर्फ कागिसो राबडाले तीन विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७१ रनमा अल आउट भयो। हेनरिच क्लासेनले सर्वाधिक ८१ रन जोडे।
पाकिस्तानका सुफियान मुकिमले चार विकेट हात पारे। शाहीनशाह अफ्रिदी र नसीम साहले दुई–दुई विकेट लिए।
दक्षिण अफ्रिकाले सन २०२१ पछि घरेलु मैदानमा पाकिस्तानसँग शृङ्खला गुमाएको यो दोस्रो पटक हो। पाकिस्तानले पहिलो एकदिवसीयमा ३ विकेट र दोस्रोमा ८१ रनको जित हात पारेको थियो।
अब यी दुईबीच २६ डिसेम्बरबाट दुई खेलको टेस्ट शृङ्खला सुरू हुनेछ।
















