काठमाडौं । काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग(इडब्लुभिएल) २०२४ का लागि टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ ।
दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन् । फुल्डेन बलियो आक्रामक र रक्षात्मक क्षमताका लागि परिचित छिन्
उरालले भलिबल नेसन्स लिग २०१८ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छिन् ।
क्लब स्तरमा भने उनले टर्किस महिला भलिबल लिगमा धेरै सिजन खेलिसकेकी छन् । उनले टर्कीका केही शीर्ष भलिबल टोलीहरूको प्रतिनिधित्व गर्दै सीईभी कप २०२२/२३, च्यालेन्ज कप २०२१/२२ र बीभीए कप २०१४/१५ मा पनि भाग लिएकी छन् ।
काठमाडौं स्पाइकर्समा आबद्ध १८६ सेन्टिमिटर उचाइकी उराल सबैभन्दा अनुभवी खेलाडी हुन् ।
काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले उरालको आगमनपछि टिम बलियो बनेको बताइन् । ‘फुल्डेन उराललाई आफ्नो टोलीमा सामेल गर्न पाउँदा हामी खुशी छौं । हामीले एभरेष्ट महिला भलिबल लिगको यस सिजनमा बलियो प्रतिष्पर्धा गर्ने लक्ष्य राखेका छौं । त्यसैले हामीलाई विश्वास छ अन्तर्राष्ट्रिय र क्लब स्तरका प्रतियोगिताहरू खेलेको उनको लामो अनुभवले हाम्रो टोलीलाई विशेष फाइदा हुनेछ ।’
काठमाडौँ स्पाइकर्समा अनुबन्ध भएसँगै फुलडेन उरालले आफ्नो उत्साह व्यक्त गरिन्, ‘काठमाडौं स्पाइकर्सको हिस्सा हुन पाउँदा म खुशी छु । म आफ्नो अनुभव नेपालमा ल्याएर टोलीका लागि यस रोमाञ्चक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तत्पर छु ।’
फुलडेन उराल भित्रिएपछि काठमाडौं स्पाइकर्सले पहिलो सिजनमा सफलता हात पार्ने विश्वास राखेको छ । काठमाडौंले यसअघि नै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभा र टर्किस अपोजित हिटर पेलिन एरोक्टालाई अनुबन्ध गरिसकेको छ ।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारी छिन् ।
काठमाडौं टिम : उषा भण्डारी, कमला पुन, आरती सुवेदी, कोपिला राना, उषा विष्ट, निशा महरा, बसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट),
विदेशी खेलाडी : आन्द्रे टिसेतानोभा, पेलिन एरोक्टा, फुल्डेन उराल