
काठमाडौँ । कोपा–अमेरिका विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता हो । यो प्रतियोगिताको इतिहासमा एउटा गजबको संयोग जोडिएको छ । कोपा–अमेरिकाको सुरुआती संस्करणहरूमा दक्षिण अमेरिकी राष्ट्रहरूले मात्र प्रतियोगितामा सहभागिता जनाउँथे ।
प्रतियोगिताको चौथो संस्करण सन् १९२० मा चिलीमा आयोजना भएको थियो । त्यो प्रतियोगितामा चारवटा टोली सहभागी थिए । कोपा–अमेरिकाको त्यो संस्करणमा ब्राजिलका एक व्यक्तिले दुईवटा भूमिका निर्वाह गरेका थिए ।
त्यो संस्करणमा ब्राजिलका जाओ डे मारिया खेलाडीका रूपमा ब्राजिलको टोलीमा सहभागी थिए । खेलाडीका रूपमा पनि उनले डिफेन्डर र स्ट्राइकर दुवैको भूमिका निर्वाह गरेका थिए । कोपा–अमेरिकाको त्यही संस्करणमा उनले रेफ्रीको भूमिका पनि निर्वाह गरेका थिए ।
अर्जेन्टिना र चिलीबिच सेप्टेम्बर २० तारिखमा खेलिएको खेलमा उनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कोपा–अमेरिकाको त्यो संस्करणमा ब्राजिल तेस्रो भएको थियो । उरुग्वे पहिलो र अर्जेन्टिना दोस्रो भएका थिए । कोपा–अमेरिकाको ४८औँ संस्करण हाल अमेरिकामा जारी छ ।