डुम्रे(तनहुँ), १० मङ्सिर । तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो ।
उक्त पुलको लम्बाइ ७४ मिटर रहेको पञ्चनगर माझडिही झोलुङ्गे पुल उपभोक्ता समितिका सल्लाहकार जयहरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पुल बनेपछि दुई वडाका तीन हजार तीन सय ३० स्थानीयवासी लाभान्वित भएका छन् ।
सङ्घीय सरकारको रु ५९ लाख ८५ हजार छ सय छ र भानु नगरपालिकाको रु तीन लाख ५९ हजार एक सय ३६ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको उक्त समितिका समितिका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उक्त पुल निर्माणका लागि वि.सं २०७७ असार ३१ मा सम्झौता गरिएकामा साउन १ गतेदेखि निर्माण कार्य सुरु भएर २०७९ चैत १५ गते सम्पन्न भएको थियो । स्थानीय राजेश कार्कीले पुल नहुँदा अर्को वडामा पुग्न घुमाउरो बाटो पार गर्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “झोलुङ्गे पुल बनेपछि बाटो छोटिएको छ । घुमाउरो बाटो जानुपथ्र्यो । अब सजिलो भएको छ । खोला बढेकै अवस्थामा भोग्नुपर्ने सास्ती हट्यो ।”
उक्त पुल आज सांसद एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्दै स्थानीयवासीलाई सहजरुपले सुबिधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “सबै आवश्यकता एकैपटकमा समाधान हुँदैन । आवश्यकताको प्रकृतिअनुसार क्रमशः पूरा हुन्छ ।”
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले योजनाको प्राथमिकताका आधारमा विकास गरिँदै लगिनेमा जोड दिनुभएको थियो । रासस