आँवुखैरेनी ।
साउन १९ गते विहान १० नबज्दै छलिमाया अन्नपूर्ण प्राथमिक विद्यालयको प्राङ्गणमा कक्षा २ मा पढ्ने आफ्ना छोरा भरत गुरुङको उत्तरपुस्तिका हेदै थिइन् । २०४४ सालमा स्थापना भएको अन्नपूर्ण प्राविका विदार्थीहरु र अभिभावकले ३६ वर्ष पछि सँयुक्त रुपमा सिकाईको नयाँ चरणमा प्रवेश गरेको अनुभूति गरे । छलिमायाले उत्तरपुस्तिका हेरीरहँदा कक्षा ३ मा पढ्ने आफ्ना नातिनी रुक्सना भुजेल र उनको उत्तरपुस्तिका हेरीरहेकी थिइन हजुरआमा फूलमाया भुजेल । फूलमाया आफैमा नाम लेख्न समेत सकस परेपनि उनले आफ्नो नातिनीको सिकाइबारेमा चासोका लागि नियालिरहेकी थिइन ।
विद्यालयले पहिलो पटक ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गरेपछि ग्रेडिङ सिट अनुसार आफ्ना बाबुनानीले ल्याएको अङ्क मिले नमिलेको बारेमा अभिभावकहरुले विद्यालयको प्राङ्गणमा बसेर कक्षा शिक्षकको सहयोगमा बाबुनानीको सिकाइ स्तर परिक्षण गरिरहेका थिए ।
शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेको आँवुखैरैनी गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि सिकाइ सुधारका लागि हरसम्भव प्रयास गरिरहेको र आफूहरु सोही अनुसार काममा दत्तचित्त भएर लागि परेको विद्यालयका प्रधानाध्यापक गोर्वधन अधिकारी बताउँछन् ।पहिले यस विदालयमा विदार्थीको सँख्या ५० देखि ७० को सँख्यामा रहने गरेको थियो । विद्यालयलाई रामशाह माविमा मर्ज गर्नुपर्छ भन्ने आवाजहरु पनि सुनिएका थिए । भर्ना अभियान गर्यो विद्यार्थी आउँदैनन् । नजिकै बोर्डिङ विद्यालयमा विद्यार्थी धेरै भएपनि हाम्रोमा यहाँको पुर्वाधार अनुसार थोरै थिए । पछिल्लो समय आँवुखैरेनी गाउँपालिका अध्यक्ष ज्यूले आफ्ना बाबुलाई यसै विद्यालयमा भर्ना गरेसँगै विद्यार्थी आउने क्रम बढेको र अहिले ११८ जना विद्यार्थीहरु अध्ययनरत रहेको अधिकारीले बताए । अधिकारीले भने ,‘ पहिलो विद्यार्थी आएनन् अहिले कक्षा कोठामा अटाउन मुस्किल छ । अर्कोसाल यहाँ विद्यार्थी सँख्या अझै धेरै हुनसक्छ ।
शिक्षाको सुधार गर्न हामीले निरन्तर प्रयास गरिरहेका छौँ, यसले सफलतामा अवश्य पुर्याउँछ भन्ने आशावादी छौँ ।’
आज हामीले प्रथम त्रैमासिक परीक्षाको ग्रेडसिड सहित अभिभावकहरुको रोहवरमा नतिजा प्रकाशन गरेका छौँ, यसले सिकाइको सुधारमा सहयोग पुर्याउने र बाबुनानीको हेरचाहमा सघाउन अभिभावकहरुलाई सहज हुने अपेक्षा गरिएको उनले बताए ।
विद्यालयका प्रत्येक कक्षाकोठा विद्यार्थी र शिक्षकले निर्माण गरेको शैक्षिक सामग्रीले सजिएका छन् । विद्यालयमा बैठक हल, प्लानिङ हल र प्रशासनिक कोठाहरु अलगअलग रहेका छन् । विद्यालय छुट्टी पछिको समय सबै शिक्षकहरु प्लानिङ हलमा बसेर पछिल्लो दिनका लागि पाठ अनुसारको शैक्षिक सामग्री तयार गर्दछन् । शैक्षिक सामग्री र पाठयोजना विना विद्यार्थीका कक्षाकोठा प्रवेश गर्न पाइँदैन, प्रधानाध्यापक अधिकारीले भने । यस विद्यालयमा पढाउने कुनै शिक्षक पाठयोजना विना विद्यालय आउनुभएको छ भने उहाँले त्यस दिन विद्यालयमा काम गर्न पाउनुहुन्न, त्यस दिनका लागि उहाँको विदा कट्टा हुन्छ, उनले भने ।
विद्यालयमा खेल मैदान, सफा पिउने पानी, रहेको छ । भवनहरु जस्ताको मात्रै रहेका कारण पक्की निर्माणका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद मिश्रले बताए । विद्यालय सुधारका लागि निर्माण गरिएका कुनैपनि समितिले सक्रिय भएर काम नगरेमा नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिने र अभिभावक भेलाबाट नयाँ समिति चयन गर्ने गरिएको प्रधानाध्यापक अधिकारीले बताए ।
हामीले विद्यालयको शैक्षिक सुधारका लागि काम गरेका छौँ, भौतिक पुर्वाधार तर्फ समितिले सक्रियता देखाएको छ । अन्नपूर्ण प्राथामिक विद्यालयमा आँवुखैरेनी गाउँपालिकाको शिक्षा सुधारका लागि उदाहरणीय बन्ने कोशिसमा शिक्षक, अभिभावक, विद्यार्थी त्रिकोणात्मक रुपमा लागि परेका छन् । आधारभूत तहको सिकाइ सुधारका लागि गाउँपालिकाले विभिन्न सँस्थाको सहयोगमा काम गर्दै आइरहेको छ । गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएर आएसँगै आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानले सामुदायिक विद्यालय सुधारको ब्यापक अभियान संचालन गर्दै आएका छन् ।