दमौली
दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन्। राजधानीमा एक कार्यक्रममार्फत उनका कृतिहरु एकसाथ विमोचन भएका हुन्। गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ जति श्रुजनाहरु छन्। अधिकांश पत्र पत्रिका र अनलाइन न्युज पोर्टलमा प्रकासित भईसकेका छन् भने केही सङ्गीत समेत भरेका छन्। कृति ४ वर्ष अगाडि सम्पूर्ण तयारी भएको थियो तर कोभिड र विविध कारणले ढिलाइ भएको गीतकार सागर उदासले विमोचन समारोहमा बताए।
अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा श्रृजनाहरु छन्। कृतिमा मन–मुटु, माया–प्रेम, राष्ट्र– प्रेम र कोभिड्का पीडाहरु झल्किएका छन्। गीतकार उदासको नेपाली गीत संगीतमा योगदान अत्यन्तै ठूलो रहेको वरिष्ठ सञ्चारकर्मी तथा कवि रमेश पौडेलले बताए। वरिष्ठ साहित्यकार एवंम गजलकार श्रवण मुकारूङ्गले जिवनको करिब ४ दशक गीत श्रृजनामा बिताएका सर्जक सागर उदासको खुलेर प्रसंशा गरेका थिए। उनको श्रृजनाले नेपालको साहित्य क्षेत्रमा ठुलो टेवा पुगेको समेत उनले बताए। तनहुँको सदरमुकाम दमौली बजारमा बसोबास गर्दै आएका उदास रसिला गीतकार र सफल व्यवसायी हुन्। उनको दर्जनौं गीत रेकर्ड भैसकेका छन्। उनको गीतहरु राष्ट्र प्रेम, मायाप्रिति र देशभक्ति झल्कने गर्छ।
सरल भाषामा गाउँघरका सुवास झल्किने मायाप्रेम र विकृति विसंगति विरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका छन्। उनको गितले नयाँ पुस्तालाई देशमै बस्न र सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। मिलनसार, सहयोगी र आत्मीय व्यवहारका कारण उनी सामाजिक कामहरूमा समेत मन खोलेर सहयोग गर्छन्। उनी गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हुन्। उनी आफ्नो व्यवसायिक कर्मसँगै साहित्य, पर्यटन प्रवर्दधनमा समेत पनि उत्तिकै क्रियाशील छन्।
स्कुले जीवनदेखि नै नाचगान सधैँ अगाडि रहेको उनी सुनाउँछन्। सानै उमेरदेखि रेडियो नेपाल निरन्तर सुनेर गीत संगितमा अभिरुची बढेको उनले सुनाए।
विसं २०५० मा रिकर्ड भएका उनका पहिलो गीत आइसिं लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो। सागर उदासका पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गिती एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रिकर्ड गरेका थिए। उनी चोटिला मुक्तक र रसिला गीत लेख्नमा निपुण छन्। गीतकार रमेश पौडेलको दुवै कृतिका सम्पादन र संयोजन गरेका हुन्।