दमौली
संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
संविधान दिवस जिल्ला समारोह समितिको आयोजनामा सोमबार प्रभातफेरी कार्यक्रम गरिएको हो ।
प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कार्यालय प्रमुख तथा कर्मचारीहरु, पत्रकार, सुरक्षा निकायको सहभागिता रहेको थियो । दमौली अनसन चौतारीबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरी अनसन चौतरीमै पुगि सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधानको पूर्ण कार्यान्वयन र पालना गर्ने जिम्मेवारी सबैको भएको बताए । संविधानको उचित कार्यान्वयन गर्न सकेमात्र यसको सार्थकता रहने बताउदै उनले कार्यान्वयन सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
साथै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले संविधान विपरीत कार्य कसैले गर्न नहुने बताउदै यसको संरक्षणमा सबै नागरिक सचेत हुनपर्ने बताए ।
देशभर जस्तै तनहुँमा पनि विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । दिवसको अवसरमा ३ दिनसम्म जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि संविधान दिवसको अवसरमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका बिरामीहरुले फलफुुल वितरण गरिएको शुक्लाका उप प्रमुख खुम बहादुर वि.क.ले बताए ।















