तनहुँ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाको आयोजनामा मङ्गलबार भएको दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि एपीएफकी कान्छीमाया कोजुले जितेकी छिन ।
कोजुले २१ किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट १२ सेकेन्डमा उक्त दुरी पार गर्दै उपाधी जितेकी हुन ।
महिला हाफ म्याराथनमा प्रथम हुने कोजुले रु ४१ हजार ७८ सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन ।
यस्तै नेपाली प्रहरीकी रेखा बम बिष्ट द्वितीय भईन । बिष्टले उक्त दुरी २ घण्टा ४ मिनेट ४२ सेकेन्डमा पार गरेकी हुन ।
द्वितीय हुने बिष्टले रु ३१ हजार ७८ नगदसहित ट्रफि र प्रमाण प्राप्त गरिन ।
यस्तै व्यास-१० की नम्रता गुरुङ तृतीय भईन । गुरुङले उक्त दुरी २ घण्टा ११ मिनेट २३ सेकेन्डमा पार गरेकी हुन ।
तृतीय गुरुङले रु २१ हजार ७८ नगदसहित ट्रफि र प्रमाण प्राप्त गरिन ।
यस्तै सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरिएको छ ।
खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य सहित व्यास-३ व्यासगुफा र व्यास-११ तनहुँसुरसम्म महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा ५१ महिला धावकले नाम दर्ता गराएको व्यास नगरपालिकाकाले जनाएको छ ।
महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिइन् ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड भएको हो । उक्त दूरी २१ किमिको रहेकोे थियो ।