किरण श्रेष्ठ, तनहुँ । मादीनदी किनारको शिशुवा भतेरीमा छाडा चौपायलाई व्यवस्थित गर्न गौ संरक्षण केन्द्र बनाइएको छ । छाडा चौपाया जथाभावी छाडिंदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या हल गर्न व्यास नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापनका लागि गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ ।
तनहुँको व्यास नगरपालिका-१० मा पर्ने यो ठाउँमा गौ संरक्षण केन्द्र बनेसंगै यस क्षेत्रमा गिद्धको आगमन र संख्यामा पनि वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद सापकोटाले बताउछन । उनका अनुसार गौ संरक्षण केन्द्रमा मरेका गाई खान प्रसस्त गिद्ध आउने गरेका छन् । तर उक्त क्षेत्रमा विस्तार भएको ३३ केभी प्रशारण लाइन गिद्धका लागी पासो बनेको छ । तल्लो सिसौ घारीदेखि परेवा डाडासम्मको करिब ३ किलोमिटर क्षेत्रमा गिद्ध मर्ने गरेका छन । जसको कारण ३३ केभी प्रशारण लाइन भएको स्थानीय रामप्रसाद सापकोटाले बताउछन् ।
गौ संरक्षण केन्द्रमा मरेका गाईको सिनो खाएर बस्नका लागि ३३ केभी प्रशारण लाइनको तार र पोलमा पुग्दा करेन्ट लागेर गिद्धा मर्न थालेका स्थानीय रामप्रसाद सापकोटाले बताए । उनि भन्छन ‘पोल र अन्य रुखको उचाई बराबर छ, त्यसैले पनि गिद्धलाई मेरो नभएर विद्युत पोलमा बस्न जाने देखियो ।’
गौ संरक्षण केन्द्र बनाएसंगै छाडा चौपायालाई व्यवस्थित गर्न सहज भएको छ । तर, यहाँ मरेका गाईको सिनो खाएर वातावरणलाई स्वच्छ राख्ने गिद्धको संरक्षणका विषयमा भने सरोकारवला निकायको ध्यान पुगेको छैन ।
प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था तनहुँमा संकटग्रस्त हुने डर बढेको छ । मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध मर्ने क्रम बढेको छ ।
गौं संरक्षण केन्द्रका कारण गिद्धको संरक्षणका साथै संख्यामा वृद्धि भएपनि हाइटेन्शन लाइनका कारण करेन्ट लागेर गिद्ध अकालमै मर्ने गरेका छन् । २०७६ सालमा विद्युत प्रवाह भए यता करिब ६०/७० वटा गिद्ध करेन्ट लागेर मरेको स्थानीय अर्का स्थानीय नरिश्वर सापकोटा बताउँछन् ।
वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा पनि परिचित छन्। गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, रेविज, प्लेग, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्ने विज्ञहरु बताउँछन् ।
गौ संरक्षण केन्द्र आसपासबाटै विस्तार गरिएको भोर्लेटार-दमौली ३३ केभी प्रशारण लाइनका कारण गत सोमबारमात्रै तीन वटा गिद्ध मरेका छन भने एउटा गिद्ध घाइते अवस्थामा भेटिएको छ ।
‘सोमबार मात्रै एउटा विद्युतको पोलमा मरेको अवस्थामा झुण्डिएको, २ वटा भईमा मरेको अवस्थामा र एउटा करेन्ट लागेर घाइते अवस्थामा गिद्ध भेटियो’, शिक्षक समेत रहेका सापकोटाले भने, ‘विद्युत प्राधिकरणले दीर्घकालिन रुपमा पर्ने असरको अध्ययन नगरी हाइटेन्शन लाइन विस्तार गर्दा यस क्षेत्रमा खेल मैदान, झोलुङ्गे पुल निर्माणमा समेत समस्या खडा भएको छ ।’ उनका अनुसार यस क्षेत्रमा प्राधिकरणले राम्रोसंग विद्युत पोलको अर्थिङ्ग नमिलाउँदा अर्थिङमा परेर स्थानीय एक बालक समेत घाइते भएका थिए ।
गौ संरक्षण केन्द्र पारी रहेका सिमलका रुख काट्न नदिने र सालका लामा-लामा बलो बनाएर गिद्धलाई आराम गरेर बस्ने ठाउँ बनाउन लागेको व्यास-१० का वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।
मादी नदि तटबन्धन गरेर गौ संरक्षण केन्द्र जोगाउने पहिलो उद्धेश्य रहेको वडाअध्यक्ष सापकोटा बताउछन । उनले भने ‘नाङ्गो तार व्यवस्थापनका लागी विद्युत प्राधिकरण र हाइड्रोपावर सँग पटकपटक अनुरोध गरेको छु । तर अलि व्यवस्था गरिएको छ । हाइड्रोले प्राधिकरणलिई हस्तान्तरण गरेको रैनछ त्यसैले पनि कसले जिम्मेवारी लिने भन्ने विषयमा समस्या देखिएको वडाअध्यक्ष सापकोटा बताउछन ।
केन्द्रमा हाल १०० भन्दा बढी गाई रहेको गौ संरक्षण केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए । केन्द्रले प्रति गाई २ हजार शुल्क लिएर गाई व्यवस्थापन गर्ने गरेको अध्यक्ष सापकोटा बताउछन् ।
मिलिम हाइड्रोले प्राधिकरणलाई हस्तातरण नगरेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । उनले अगाडी भने ‘भतेरीमा भईरहेको घटना बारे मलाई जानकारी थिएन, बुझेर के गर्न सकिन्छ प्रक्रिया अगाडी बढाउछौ ।’
‘सो क्षेत्रमा ३३ केभी भएकाले टावर बनाउन मिल्दैन ।’ प्रमुख जोशीले भने ‘अण्डरग्राउण्ड गर्न सकिन्छ तर त्यसको लागी पहाडी क्षेत्रमा सहज बहने छैन, प्रक्रिया पनि लामी हुन्छ ।’
गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न । गिद्धको जोडी आजीवन सँगै हुन्छन्, गुँड निर्माणदेखि बच्चा कोरल्ने अनि हुर्काउने काम सबै सँगैसँगै गर्छन् ।
नेपालमा गिद्धको घना वासस्थान पश्चिम नेपालको तर्राई र मध्यपहाडी वनमा रहेको पाइन्छ । गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रूखमा बस्न रुचाउँछ। प्रकृतिमा हरेक जीवको आफ्नै महत्व हुन्छ, गिद्धको पनि आफ्नै धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व रहेको छ ।
पर्यावरणमा योगदान
गिद्धले पर्यावरणमा विशिष्ट योगदान गर्छ। मरेका पशुहरूको सिनो खाएर प्रकृतिलाई स्वच्छ राख्न मद्दत गर्ने भएकाले यसलाई प्रकृतिको कुचीकार समेत भनिन्छ।
अध्ययन अनुसार, एउटा गिद्धले सिनो सफाइमा करीब ११ हजार अमेरिकी डलर मूल्य बराबरको योगदान दिन्छ । त्यसकारण गिद्धलाई पर्यावरणीय चक्र र खाद्य शृंखला सन्तुलनको संवाहक मानिन्छ।
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले ‘अति संकटापन्न’ सूचीमा राखेको छ। जसमा लामो ठुँडे गिद्ध, सुन गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध पर्छन्। साथै, हिमाली गिद्ध, हाडफोर गिद्ध, राज गिद्ध पनि संकटको नजिक रहेका मानिन्छन्।
सन् १९८० को दशकमा नेपालमा १६ लाखसम्म गिद्ध पाइएको तथ्यांक छ। तर, अहिले २० हजारभन्दा कम रहेको अनुमान गरिन्छ। नेपालमा मात्र होइन, दक्षिण एसियाका भारत, पाकिस्तानमा समेत गिद्धको संख्या सन् १९९० को दशकदेखि घट्न थालेको हो।
नेपालमा सन् २००२ देखि घटिरहेको डंगर गिद्धको संख्या २०१२ पछि बढ्न थालेको हो। डंगर गिद्धको संख्या दुई हजार जति पुगेको अनुमान छ ।