किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–४ को विमलनगरस्थित चुनपहरामा प्रथम रक क्लाइम्बिङ फेस्टिभल सम्पन्न भएको छ । रक क्लाइम्बिङको रुट संरक्षण गर्न दबाब दिन स्वदेश तथा विदेशी खेलाडीहरुलाई जम्मा गरि उक्त महोत्सव गरिएको बिमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए ।
मुग्लिन-कोत्रे सडकखण्ड विस्तारका क्रममा चुन पहराको अस्तित्व मेटिन नदिन र उक्त ठाउँको पर्यटन प्रवर्धन गर्न नेपालमै पहिलो पटक रक क्लाइम्बिङ महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।
गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड तथा बन्दिपुर गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म भएको ३ दिने रक क्लाइम्बिङ महोत्सवमा देशविदेशबाट आएका माउन्टेरिङ गाइडहरुबीच रक क्लाइम्बिङ प्रतियोगिता गरिएको थियो ।
साहसिक खेलका लागि नेपालकै रक क्लाइम्बिङको उपयुक्त गन्तव्य मानिएको विमलनगरको चुन पहरालाई बचाउन गरिएको ३ दिने महोत्सवमा रक क्लाइम्बिङ गर्नेको घुईंचो लागेको थियो । पृथ्वीराजमार्गको फराकिलो गर्ने क्रममा चुन पहरोमा गरिने रक क्लाइम्बिङको रुटको अस्तित्व नामेट भएर जाने भएकाले संरक्षण गर्न दबाब दिन महोत्सव गरिएको आयोजकले जनाएको छ ।
बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले पृथ्वीराजमार्गको स्तरोन्नति गर्ने क्रममा चुन पहराको अस्तित्व समाप्त गर्न नहुने बताए । रक क्लाइम्बिङको प्रचार गरी पर्यटन प्रवद्धन गर्न समेत महोत्सवले मद्धत पुग्ने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए ।
मूख्य आयोजक गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले बिमलनगरको चुन पहरा साहसिक खेल रक क्लाइम्बिङका लागि नेपालकै उत्कृष्ट गन्तव्य रहेकाले यसलाई बचाउन आफुहरुले महोत्सवको आयोजना गरेको बताए । ‘‘चिनियाँ कम्पनीले सडक विस्तार गर्ने क्रममा चुन पहरालाई जोगाइदियोस् भन्ने कुरामा दबाब दिन महोत्सव गरेका हौँ’’ शाहीले भने ।
नेपालकै सबैभन्दा राम्रो र उपयुक्त गन्तव्यको रुपमा मानिएको रक क्लाइम्बिङको उद्गम स्थल चुन पहरालाई जोगाउनु आफूहरुको एक मात्र उद्देश्य भएको आयोजक क्लबका कोषाध्यक्ष कुलबहादुर गुरुङले बताए ।
श्रेष्ठका अुनसार चुन पहरामा साहसिक खेल रक क्लाइम्बिङ गर्नका लागि स्वर्गीय इमानसिङको सम्झनामा प्रेम गुरुङ, सुनार गुरुङ, श्री महर्जन र पदम घलेले रुटहरु तयार गरेका हुन् । ६० वटा रुट तयार भइसकेको समितिले जनाएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैंक (एडीबी)ले सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रकृयामा गइसकेको छ ।
प्रतियोगितामा पञ्चमाया र दिपन बिजयी
सो प्रतियोगितामा ५ जना महिला र ५ जना पुरुष फाइनलमा पुगेका थिए । जसमध्ये महिला तर्फ पञ्चमाया तामाङ प्रथम भएकी छिन । उनले ५० हजार ५ सय, मेडल र प्रमाणपत्रसहित एस्ट्रेक वाल क्लाम्बिङबाट १ वर्षको वाल क्लाम्बिङ कोर्स पाएकी छिन ।
त्यस्तै दित्तिय रुषा प्रधान भईन, उनले २० हजार, मेडल र प्रमाणपत्रसहित एस्ट्रेक वाल क्लाम्बिङबाट ६ महिनाको वाल क्लाम्बिङ कोर्स पाएकी छिन । त्यस्तै जापानकी सावा सुचिता तृतीय भईन । उनले १० हजार र एस्ट्रेक क्लाइम्बिङबाट तीन महिनाको वाल क्लाइम्बिङ कोर्स पाएकी छिन ।
यस्तै पुरुष तर्फ प्रथम दिपन गुरुङ, दित्तीय सुलभ राई र तृतीय तेन्जिङ राई भएका छन् । उनिहरुले क्रमश: ५० हजार ५ सय, २० हजार र १० हजार सहित मेडल, प्रमाणपत्र र क्रमश: १ वर्ष, ६ महिना र ३ महिनाको निशुल्क एस्ट्रेक वाल क्लाम्बिङबाट वाल क्लाम्बिङ कोर्स पाएका छन् ।
समापन कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीब गुरुङ प्रमुख अतिथि रहेका थिए । उनले रक क्लाईम्बिङ गरे तर कार्यक्रममा बोल्न चाहेनन् ।
इन्जिनियर जुद्ध बहादुर गुरुङले गण्डकी प्रदेशमा १० हजार ५ सय वटा पर्यटन सम्बन्धि कम्पनी रहेको बताए ।गण्डकी प्रदेशमा ३२ किसिमका पर्यटकीय गतिविधि गरिने गुरुङ बताउछन ।
उक्त प्रतियोगितामा जापान, नेदरल्यान्ड र नेपालका गरी ३८ जनाले सहभागीता जनाएको क्लबका उपाध्यक्ष सुमन गुरुङले बताए ।
तस्बिरहरु :
तस्बिर सौजन्य : गण्डकी अल्पाइन क्लब