तनहुँ । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँकी बसन्ता श्रेष्ठ चयन भएकी छन् ।
संघको शुक्रबार बाग्लुङमा सम्पन्न भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्फत श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन हुन सफल भएकी छन् । उनको नेतृत्वमा अधिवेशनले निवर्तमान अध्यक्ष सहित ११ जना नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा स्याङ्जाका अर्जुन थापा र नवलपरासीपुर्वका धुर्वप्रसाद पाण्डे, सचिवमा कास्कीका भिमबहादुर सुनार, कोषाध्यक्षमा म्याग्दीका टेकप्रसाद सापकोटा र सह–सचिवमा स्याङ्जाका अर्जुन मरासेनी चयन भएका छन् । यस्तै सदस्यहरुमा टिकाराम सापटकोटा, कमल पौडेल, राजेन्द्र बस्नेत, सविता सुवेदी रेग्मी, रामचनद्र कोईराला रहेका छन् ।
अधिवेशन मार्फत १० जनाको कार्यसमिति चयन भएका हुन् भने निवर्तमान अध्यक्ष विदुर पौडेल स्वतः कार्यसमितिमा रहने संघका संस्थापक अध्यक्ष निर्मलराज बरालले जानकारी दिए ।
संघले पशु स्वास्थ्य र यो पेशामा संलग्न रहेका ब्यवसायीहरुको हक अधिकारका लागि कार्य गर्दै आएको छ । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा पशु स्वास्थ्य तथा औषधी ब्यवसाय गर्ने दुई सय बढी संलग्न छन् । देशभर सञ्जाल रहेको संघको नेतृत्वमा श्रेष्ठ पहिलो पटक महिला अध्यक्ष बनेकी हुन् ।