दमौली ।
तनहुँ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको प्रशासनले अनुगमन सुरु गरेको छ। पछिल्लो समय वातावरणीय मापदण्ड, राजश्व चुहावट तथा सञ्चालन प्रक्रियाबारे गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायले संयुक्त रूपमा अनुगमन तीव्र बनाएको हो।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँ जिल्लाभर रहेका क्रसरहरुको अनुगमन थाल्ने बताएका हुन् । अनुगमनका क्रममा हालसम्म चार वटा क्रसर उद्योगमा स्थलगत निरीक्षण गरिएको छ। बेलबासमा रहेको एक क्रसर, झापुटार क्षेत्रको क्रसर, बेलबासकै अर्को उद्योग तथा सत्रसयको क्रसर उद्योग, आँबुखैरेनी क्षेत्रमा सञ्चालित सज्ञ क्रसर उद्योगमा टोली पुगेको थियो।
अनुगमनका क्रममा केही उद्योगबाट आवश्यक कागजात नियन्त्रणमा लिइएको छ भने बाँकी कागजातसहित तीन दिनभित्र सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको प्रशासनले जनाएको छ। क्रसर उद्योगले आन्तरिक राजश्व, दर्ता, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कागजात पेश गर्नुपर्ने बताइएको छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा समन्वय समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशासनका अनुसार प्रारम्भिक अनुगमनपछि अन्य क्रसर उद्योगहरूमा समेत क्रमशः निगरानी बढाइनेछ। प्रशासनले उजुरीका आधारमा मात्र नभई नियमित रूपमा पनि अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ। मापदण्ड विपरीत सञ्चालन हुने उद्योगमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ। क्रसर उद्योगले वातावरण संरक्षण र राजश्व पारदर्शिताका लागि यस्ता अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवाला निकायले समेत आवश्यकता औँल्याएका छन्। तनहुँकम झण्डै तिन दर्जन क्रसर उद्योगहरु संचालनमा रहेको छन् । एकाध बाहेक सबै क्रसर उद्योगले आवश्यक मापदण्ड नपु¥याई काम गर्ने गरेका छन् । लामो समयदेखी अवैध क्रसर उद्योग माथि अनुगमन तथा नियमन भएको थिएन ।















