म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिए ।
“विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ”, उनले भने, “उपभोक्ताको श्रमदानसहित करिब रु तीन करोड ५० लाखमा योजना निर्माण भएको हो ।”
रत्नेचौरको फेदीमा रहेको लामगरास्थित कालीगण्डकीको किनारमा १० मिटर गहिरो इनार बनाइ २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पुर्याइएको छ ।
सुन्दरचौरको ट्याङ्कीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पानी तानेर रत्नेचौर र सालघारीमा रहेका दुई वटा रिजर्भ ट्याङ्कीमा फरक–फरक पाइप लाइनमार्फत आपूर्ति भएको छ ।
















