२१ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो । सन्दीप जोराले अर्धशतक बनाएर रिटाएर भए । राशिद खान र आदिल आलमले समान ११ रन बनाए । लोकेश बमले १० रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।
नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए ।
नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ । अनलाइनखबर












