images
images

वाम ध्रुवीकरण र राष्ट्रिय सहकार्यका लागि एकताको अपिल

images

काठमाडौँ ।

देशमा देखिएका जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि उब्जिएका चुनौती समाधान गर्ने ऐतिहासिक जिम्मेवारी वर्तमान पुस्ताका काँधमा आइसकेको सन्दर्भमा वामपन्थी राजनीतिक एकताको आह्वान गरिएको छ। जारी राजनीतिक अस्थिरता र संस्थागत संकटको बीच समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ भन्ने निष्कर्षसहित एकता अभियान अघि बढाउन नेतृत्व तहमा अपिल गरिएको हो।

जारी अपिलमा देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अहिले अपरिहार्य बनेको उल्लेख गरिएको छ। राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका सबै वामपन्थी शक्ति एउटै मोर्चाबाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

“देशले भोगिरहेका संकटहरूको समाधान अब विभाजित आन्दोलनबाट सम्भव छैन,” अपिलमा भनिएको छ, “राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको गहिरो संकटका बीच क्रान्तिकारी शक्तिहरूको एकता समयको माग बनेको छ।”

अपिलकर्ताले माओवादीका सबै धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आग्रह गरेका छन्। साथै संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका खातिर सबै गणतान्त्रिक तथा लोकतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरिएको छ।

अपिलमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा एकता र सहकार्यलाई व्यवहारमा रूपान्तरण गर्न सबै संबंधित पक्ष जिम्मेवार र सक्रिय बन्नुपर्ने निष्कर्षसमेत राखिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS