
दुवै टोली पछिल्लो समय राम्रो लयमा पनि देखिएका छन् । यस छनोटमा आउनुअघि दुवै टोलीले विभिन्न अन्तर्राष्ट्रिय सिरिज तथा महत्वपूर्ण प्रतियोगिता खेलेर आएका छन् ।
२६ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग खेल्दै छ ।
समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन् । दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन् ।
नेपाल र यूएईबीचको खेललाई एसोसियटको ‘महाभिडन्त’ पनि भन्ने गरिन्छ । यी दुई टोलीको पछिल्लो लय र पहिलेका नतिजाले दुई टोलीलाई एकअर्काको ‘राइभल’ बनाएका छन् ।
महत्वपूर्ण प्रतियोगिताहरूमा पटकपटक भेट भइरहने २ टोलीबीचको स्तरमा त्यति धेरै फरक छैन । तर निर्णायक खेलहरूमा एकले अर्कोलाई स्तब्ध बनाउँदै आएका छन् ।
आजको खेल पनि महत्वपूर्ण खेलमध्येको एक हुनेछ । यस खेल जित्ने टोलीको सुपर सिक्समा बलियो सुरुवात हुनेछ ।
कप्तान रोहित पौडेलले यूएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रुपमा लिने बताए । ‘यूएई यो टुर्नामेन्टको बेस्ट टिममध्ये एक हो । हामी विपक्षीको रुपमा हेरेका छौं । यदि हामीले हाम्रो बेसिक र स्ट्यानडर्ड अनुसार खेल्यौं भने हामीले जित्न सक्छौं’ रोहितले भने, ‘मुख्य कुरा हामी विपक्षी को छ भन्दा पनि आफ्नो स्ट्रेन्थमा फोकस गर्नेछौं ।’
यता यूएईका प्रशिक्षक लालचन्द राजपुतले पनि सुपर सिक्समा नेपाल र ओमानजस्ता टोलीको सामना गर्न तयार रहेको बताएका छन् ।
पछिल्लो लय
दुवै टोली पछिल्लो समय राम्रो लयमा पनि देखिएका छन् । यस छनोटमा आउनुअघि दुवै टोलीले विभिन्न अन्तर्राष्ट्रिय सिरिज तथा महत्वपूर्ण प्रतियोगिता खेलेर आएका छन् ।
नेपालले विश्वकप छनोटअघि वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्दै उक्त शृंखला नै जितेर आएको छ । त्यसअघि पनि विभिन्न देशहरूमा गएर तयारी एवम् अभ्यासहरू पर्याप्त गरेर फर्किएको छ ।
त्यसतैगरी यूएईले पनि बंगलादेशसँगको टी-२० शृंखला जितेको र एसिया कप क्रिकेटमा पनि सहभागिता जनाएकाले यूएईसँग पनि म्याच एक्सपोजर छ ।
पछिल्ला ५ टी-२०आई खेलहरूमा नेपालले १ खेल मात्र हार्दा ४ खेल जितेको छ । यूएईले ३ खेल जित्दा २ खेल हारेको छ ।
हेड टु हेड
नेपाल र यूएईबीच टी-२०आईमा हालसम्म १० खेल भएका छन् । दुवै टोलीले ५-५ खेल जितेका छन् । यसबाट पनि दुई टोलीको प्रतिद्वन्द्विता कस्तो छ भनेर थाहा हुन्छ ।
ओमानमा भएका खेलहरूमा भने यूएई हावी बन्दै आएको छ । ओमानमा भएका ३ वटै खेल यूएईले जितेको छ । यसपटक नेपाललाई त्यो नतिजा पनि सुधार्ने अवसर हुनेछ ।
पछिल्लोपटक यी दुई टोली सन् २०२४ को एसीसी प्रिमियर कपमा ओमानमा भेट भएका थिए जहाँ यूएईले नेपाललाई ६ विकेटले हराएको थियो । उक्त खेलमा हार बेहोरेका कारण नेपालको एसिया कपको ढोका बन्द भएको थियो ।
निर्णायक खेलहरूमा पनि एकले अर्कालाई स्तब्ध बनाउँदै आएका छन् । सन् २०२२ को टी(२० विश्वकप छनोटमा नेपाललाई हराएर विश्वकपमा छनोट भएको यूएई सन् २०२३ को विश्वकप छनोटमा भने नेपालसँगै पराजित भएर छनोट हुन सकेन ।
टी-२०आई वरियतामा यूएई १६औं स्थानमा छ भने नेपाल १८औं स्थानमा छ ।
प्लेयर्स टु वाच
आजको खेलमा नेपालका लागि कुशल भुर्तेल र गुल्शन झाले प्रभाव पार्न सक्छन् । भुर्तेलको ब्याटिङमा पछिल्लो समय राम्रो लय देखिएको छ । यूएईसँगको खेलमा पनि उनको सुरुवाती ब्याटिङ प्रदर्शनमा नेपालको इनिङ निर्भर रहनेछ ।
यस्तै गुल्शन झाले यूएईसँग पहिले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । यस छनोटका सुरुवाती २ खेलमा पनि उनको भूमिका ‘क्रुसियल’ देखिइसकेको छ । उनले पहिलो खेलमा आक्रामक फिनिसिङ गर्दा ६ बलमा २० रन बनाएका थिए ।
यता यूएईका लागि भने कप्तान मुहम्मद वासीम प्रमुख खेलाडी हुनेछन् । उनको ओपनिङ ब्याटिङले यूएईको सम्पूर्ण इनिङमै प्रभाव पार्ने गर्छ । बलिङमा जुनेद सिद्दिकी प्रमुख हतियार हुन् । उनी यूएईका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् ।
टस र सम्भावित ११
यो मैदानमा लो स्कोरिङ र हाइ स्कोरिङ दुवै खेल भइसकेका छन् । जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य पनि पूरा गरेको थियो । त्यो मात्र एक हाइ स्कोरिङ खेल थियो ।
अन्य खेलहरू पनि मध्यम योगफलमा चलेका छन् । नेपालले १४१ रनको योगफल डिफेन्ड गर्दा कुवेतलाई ८३ रनमा अलआउट गरेको छ भने ओमानले कतारविरुद्ध ९३ रनको लक्ष्य पनि सुस्त गतिमा पूरा गरेको थियो ।
यस मैदानमा पहिले ब्याटिङ गरेर राम्रो योगफल खडा गरी त्यसलाई डिफेन्ड गर्ने कप्तानको रोजाइ हुन सक्छ ।
नेपालले प्लेइङ ११ मा परिवर्तन नगरी खेल्ने सम्भावना छ । यद्यपी कुशल मल्लको प्रदर्शन फितलो भएकाले उनलाई प्रतिस्थापन गर्ने सम्भावना पनि छ ।
नेपालको सम्भावित ११ स् कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल/लोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
यूएईको सम्भावित ११ स् हर्षित कौशिक, मुहम्मद वासीम, मोहम्मद अरफान, राहुल चोपरा, बासिल हामीद, अलिशान शराफु, हेदर अली, ध्रुव पराशर, जुनेद सिद्दिकी, सिमरजित सिंह, मोहम्मद रोहिद
नेपालको खेलतालिका
नेपाल भर्सेस् यूएई – २६ असोज (४:१५ बजे)
नेपाल भर्सेस् कतार – २७ असोज (८:४५ बजे)
नेपाल भर्सेस् सामोआ – २९ असोज (८:४५ बजे)
नेपाल भर्सेस् ओमान – ३१ असोज (४:१५ बजे)