images
images

डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै

images

काठमाडौँ । केही दिन अघिको परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताए ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

“पछिल्लो वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,” उनले भने, “जाडो पनि सुरु हुन थालेको छ । त्यसैले अब डेङ्गी सङ्क्रमणको सम्भावना कम रहेको छ ।”

कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरे । उनका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा सङ्क्रमण देखिएकामा दसैँको बीचमा १९० जनामा सङ्क्रमण देखिएको छ ।

उनले डोल्पा र मनाङ जिल्लाबाहेक सबैमा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको निधन भइसकेको छ । कोशी प्रदेशमा ७८५, मधेस प्रदेशमा ११९, बागमती प्रदेशमा एक हजार ३१४, गण्डकी प्रदेशमा एक हजार ३५६ जना, लुम्बिनी प्रदेशमा ९७३ जना, कर्णाली प्रदेशमा ३२८ र सुदूरपश्चिम प्रदेशमा ६६७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS