
तनहुँ ।
नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो झर्दा सबैजना त्रसित हुन्छन्, तर एक व्यक्ति छन्। जो त्यही जोखिम बीच पनि अडिग रहन्छन्। उनी हुन् ट्राफिक प्रहरी हवल्दार भरत कुँवर, जसले पहिरो झर्दा झर्दै पनि लोडर चलाएर बाटो खुलाउने गर्छन्।
२०७२ सालदेखि ट्राफिक प्रहरीको लोडर चलाउँदै आएका कुँवर अहिले मुग्लिन–नारायणगढ सडकमा विपद् व्यवस्थापनका ‘फ्रन्टलाइन हिरो’ बनेका छन्। असोज ३ गते तुइनखोलामा खसेको ठूलो पहिरो पन्छाउन ४५ घण्टा लगातार काम गर्नुपर्यो, त्यसपछि असोज ७ गते फेरि पहिरो खसेपछि ५८ घण्टा निरन्तर डोजर चलाए।
कुँवर भन्छन्, “तुइनखोलाको पहरो चर्किएर बसेको छ। कुन दिन झर्ने हो थाहा छैन। मान्छे र गाडी नभएको बेला झरे हुन्थ्यो भनेर सधैं प्रार्थना गर्छु।”
उनका अनुसार वर्षाको समयमा ‘स्ट्यान्ड बाइ’ रहनै पर्छ, किनकि जब वर्षा पर्यो भने पहिरो झर्न सक्छ र तुरुन्तै सडक अवरुद्ध हुन्छ।
जोखिम मोलेर पनि काममा अडिग कुँवरलाई कहिलेकाहीँ ढिलाइ भयो भनेर सर्वसाधारणले गाली गर्छन्। तर उनी त्यसलाई सहजै लिन्छन्। “हामी प्रकृतिसँग लड्दै होइन, त्यसले ल्याउने चुनौतीसँग काम गर्दैछौं,” उनी मुस्कुराउँदै भन्छन्।
प्राकृतिक विपत्ति कहिले आउँछ भन्ने कसैलाई थाहा हुँदैन। तर त्यस बेला पनि बिना हिचकिचाहट काममा खट्ने कुँवरजस्ता सुरक्षाकर्मीका कारण नै सडक खुला रहन्छ र जनजीवन सहज बन्छ।
व्यास–१० सेवर निवासी कुँवर अझै पनि हरेक वर्ष बाढी–पहिरोको जोखिम मोलेर सडक खुलाउने जिम्मेवारीमा तत्पर छन्। विपद्मा सधैं अग्रपंक्तिमा।