images
images
images

ट्रम्पले विदेशी सामान आयातमा भन्सार शुल्क बढाएपछि सेयर बजारमा गिरावट

images

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात गरिने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

ट्रम्पले सम्झौताका लागि समय सकिएको बताउँदै आफ्नो पूर्व घोषणा अनुसार अगाडि बढ्ने निर्णय गरेका हुन् ।

बीबीसीका अनुसार यस निर्णयको प्रतिक्रिया स्वरूप अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ट्रम्पले यस वर्षको सुरुबाटै यस्तो कदम चाल्ने धम्की दिएका थिए । यसअघि विभिन्न कारणले कार्यान्वयन नगरिएको उक्त निर्ण मंगलबारबाट लागू गर्ने ट्रम्पले बताएका हुन् ।

चिनियाँ आयातमा पनि थप १० प्रतिशत भन्सार शुल्क लगाइने अनुमान गरिएको छ । ट्रम्पको यो घोषणासँगै अमेरिका, क्यानडा, मेक्सिको र चीनबीच व्यापारिक तनाव झन् चुलिने देखिएको छ ।

‘अब मेक्सिको र क्यानडाका लागि कुनै ठाउँ बाँकी छैन,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘भन्सार शुल्कहरू तयार छन्। तिनीहरू भोलिदेखि लागू हुनेछन्।’

यसको प्रतिक्रिया स्वरूप क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूलाई भनिन्, ‘स्पष्ट रूपमा भन्नुपर्दा, यदि ट्रम्पले महसुल लगाउँछन् भने हामी पनि तयार छौं।’

जोलीका अनुसार ओटावाले अमेरिकी आयातमा १५५ अर्ब डलर बराबरको जवाफी भन्सार शुल्क लगाउने योजना बनाएको छ। पहिलो चरणमा ३० अर्ब डलर बराबरका दैनिक उपभोग्य वस्तुहरू—जस्तै पास्ता, लुगा लगायतमा महसुल लगाइनेछ।

उनले क्यानडाले व्यापार युद्ध नचाहेको तर अमेरिका अघि बढेमा आफूहरू पनि प्रत्युत्तर दिने स्पष्ट पारिन्। ‘यसले हाम्रो अस्तित्वलाई नै संकटमा पार्छ,’ उनले थपिन्, ‘हजारौं क्यानडेली रोजगारी गुमाउने जोखिममा छन्।’

मेक्सिको र चीनले पनि अमेरिकी महसुलको प्रतिवाद गर्ने बताएका छन्, जसले विश्वव्यापी व्यापार युद्धको सम्भावना बढाएको छ।

ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि महसुल लगाउने धम्की अवैध लागूऔषध र आप्रवासीहरूको अस्वीकार्य प्रवाह रोक्न आवश्यक भएको भन्दै दिएका थिए।

यी महसुलहरू गत महिना नै लागू हुनुपर्ने थियो, तर अमेरिका क्यानडा र मेक्सिकोलाई एक महिनाको समय दिएर सम्भावित व्यापार युद्ध रोक्ने प्रयासमा लागेको थियो।

तर, ट्रम्पले फेब्रुअरीमै चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क लगाइसकेका थिए, जसका कारण अहिले चिनियाँ सामानहरूमा कम्तीमा २० प्रतिशत भन्सार शुल्क लाग्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS