
काठमाडौं । अमेरिका र बेलायतले फ्रान्सको पेरिसमा आयोजित एआई विश्व सम्मेलनको घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सम्मेलनमा सहभागी अन्य ६० देशका प्रतिनिधिहरुले भने घोषणापत्रमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा फेब्रुअरी १० र ११ मा सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा ८० देशका प्रतिनिधिहरु सहभागी थिए ।
‘समावेशी र दिगो’ कृत्रिम बौद्धिकता सम्बन्धी घोषणा पत्र मंगलबार जारी गरिएको थियो । त्यसमा फ्रान्स, चीन, भारत, जापान, अष्ट्रेलिया, क्यानडा लगायतले हस्ताक्षर गरेका छन् । तर अमेरिका र बेलायतले हस्ताक्षर गर्न अस्वीकार गरेको द गार्जियनले जनाएको छ । यसबाट प्रविधि विकास एवम् नियमनको क्षेत्रमा समन्वय र सहकार्य हुने आशालाई धक्का पुगेको समाचारमा उल्लेख छ ।
बेलायत सरकारका प्रवक्ताले राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन नभएकाले हस्ताक्षर नगरेको प्रतिक्रिया दिएका छन् ।
सम्मेलनमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी थिए । भारतीय मिडियाहरुका अनुसार एआई सम्बन्धी आगामी सम्मेलनमा भारतमा आयोजना हुने छ ।