दमौली ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार दमौलीको सिद्धार्थ होटलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा र तनहुँका जिल्ला अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा बोल्दै पोख्रेलले व्यावसायिक हितकोषको स्थापना गरिसकिएकोले यसमा सबै पुस्तक व्यवसायीलाई आबद्ध गर्नुपर्नेमा जोड दिए ।
साथै अब कापीमा पनि गुणस्तर र पानाको संख्याको आधारमा मूल्य निर्धारण गर्न लागिएको जानकारी दिए । कार्यक्रममा नेपाल पुस्तक व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले महासंघ बलियो भयो भने व्यवसायी बलियो हुने र व्यवसायी बलियो भए मात्र समाजलाई योगदान दिन सक्ने भएकोले सबै एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य महासंघ, तनहुँका वरिष्ठ उपाध्यक्ष रामकृष्ण न्यौपानेले गरे । कार्यक्रममा अध्यक्ष रामचन्द्र सापकोटाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरज बुढाथोकीले कोषाध्यक्षको प्रतिवेदन पेश गरे । कार्यक्रममा प्रदेशका पूर्व अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, जिल्लाका पूर्व अध्यक्ष दामोदर मिश्र, जिल्ला सदस्य सावित्री रानाभाट ,दमौली इकाईका अध्यक्ष सुरेन्द्र पौडेल आदिले आफ्नो धारणा राखे । कार्यक्रमको सहजीकरण महासंघका सचिव कमल गैह्रेले ग । कार्यक्रममा छलफल गर्दै भावी कार्यक्रमहरु समेत निर्धारण गरिएका छन् ।
व्यवसायमा परेका समस्याहरूको पहिचान र समाधानमा विशेष जोड दिने, प्रदेश बीमा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम , प्रदेश हितकोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी प्रोत्साहन गर्ने, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू थप गर्ने र अक्षयकोषको स्थापनाका लागि आवश्यक पहल गर्ने जस्ता कार्यक्रमहरू राखिएका छन् । त्यसै गरी दमौली इकाईका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षमा तीन सदस्य नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, तनहुँको विधान मस्यौदा समिति समेत गठन गरिएको छ । जसमा प्रतापसिंह अधिकारी र रामभक्त रानाभाट सदस्य छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको साधारसभा यही पौष २० गते गोर्खा र माघ १२ गते केन्द्रिय साधारणसभा पोखरामा हुने भएको छ । साथै काठमाण्डौमा यही पुष १७ देखि २१गते सम्म दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि. को संयुक्त आयोजनामा यही मितिः २०८१ पौष १७ गतेदेखि २१ गतेसम्म काठमाडौँको भृकुटीमण्डप, प्रदर्शनीहलमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी २०२५ सम्पन्न हुने भएको छ ।
सो कार्यक्रममा जिल्ला शाखा अन्तर्गतका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुका सम्पूर्ण प्राध्यापक, शिक्षक, सामाजिक व्यक्तित्व तथा विद्यार्थीवर्गमा यो प्रदर्शनी अवलोकन गर्न प्रचारप्रसार गर्ने निर्णय समेत महासंघले गरेको छ ।
















