तनहुँ
तनुहँ जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँवुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका भित्र रहेका सामुदायिक तथा सँस्थागत ९६ विद्यालयका प्रधानाध्यापकहरुलाई एकदिने तालिम प्रदान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले सोमबार तनहुँको बन्दीपुर स्थित याम्पाफाँट रिसोर्टमा तालिम प्रदान गरेको समन्वय प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए तालिममा गत वर्षको नतिजाको विद्यालयगत रुपमा विश्लेषण गरिनुका साथै आगामि वर्ष नतिजा सुधार गर्नका लागि प्रधानाध्यापकहरुसँग लक्ष्य माग गरिएको थियो ।

बालबालिकाहरुको क्षमता अनुसारको शिक्षाको विकास गर्न कार्यक्रममा जोड दिइएको थियो । जिल्लामा २०७८ पछि प्रत्येक वर्ष तीन हजारका दरले विद्यार्थीहरु घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।
सँस्थागत र सामुदायिक विद्यालयको नतिजा स्तर एकै रहेको कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरिएको थियो । तनहुँ जिल्लामा जिपिए ४ ल्याउन एक जना मात्र विद्यार्थी रहेका थिए । पूरक परीक्षामा धेरै विद्यार्थीहरु उतीर्ण भएपनि नियमित तर्फ भने ४१.६ प्रतिशत मात्रै विद्यार्थीहरु उतीर्ण भएका थिए । गण्डकी प्रदेशमा तनहुँ जिल्लाको कमजोर नतिजा रहेकाले आगामि वर्ष सुधार गर्नका लागि प्रधानाध्यापकहरुलाई उत्साहित गरिएको इकाइले जनाएको छ । आगामि वर्ष यस वर्ष भन्दा राम्रो नतिजा आउने बताइएको छ । तनहुँ जिल्लामा यस वर्ष ७६ हजार ३५ जना बालबालिकाहरु अध्ययनरत रहेका समन्वय इकाइले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, नेपाल राष्ट्रिय शिक्षक सँगठनका तनहुँ जिल्ला अध्यक्ष रघुवीर पण्डित, एन व्यावसनका केन्द्रीय उपाध्यक्ष चौहान, भानु नगरपालिका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रास हेमलाल वास्तोला लगायतले शिक्षाको महत्वका बारेमा प्रशिक्षण दिए ।
















