काठमाडाैँ– अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच स्थानीय समयअनुसार मंगलबार बेलुकी ८ बजे टेलिभिजन बहस भएको छ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा पहिलोपटक आमनेसामने भएका हुन्। यसअघि पहिलो बहस ट्रम्प र जो बाइडेनबीच भएको थियो।
ट्रम्प र ह्यारिसको भने यो पहिलो बहस हो। बहसका क्रममा ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे। ह्यारिसले भने प्रतिवाद गर्दै ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन्।
अमेरिकाको आर्थिक र हतियार सहयोगकै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा भएको दाबी ह्यारिसले गरेकी थिइन्।
बहसका क्रममा आप्रवासन, रुस युक्रेन युद्ध, इजरायल गाजा तनाव लगायतका विषयमा चर्काचर्की भएको थियो। ट्रम्पले आप्रवासीहरूले कुकुर पनि खाने दाबी गरेका थिए। ह्यारिसले भने ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन्।
एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो। नेपाली समयअनुसार बुधबार बिहान सवा ८ बजे बहस सकिएको हो।
बहस अघि टसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो। ट्रम्पले अन्तिममा बोलेका थिए ।